नेकपा एमालेले बिहीबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गरेपछि केपी ओली नेतृत्वको एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजेका लागि बैठक बोलाइएको जानकारी दिए ।
१० बुँदे सहमति कार्यान्वयनको अर्को सहमति भएर माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्किएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्दै छ ।
यो बैठकमा पार्टी फुटको प्रभाव, १० बुँदे कार्यान्वयलगायतका विषयमा छलफल हुने बताइएको छ ।
एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले बुधबार आधिकारिकता दिएको छ । माधव नेपाल नेतृत्वको समाजवादीलाई एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सघाएका छन् ।