एमालेको केन्द्रीय कमिटीको बैठक सुरु, वामदेव गौतम सहभागी नहुने

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानमा सुरु भएको हो ।  आजको केन्द्रिय बैठकमापार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यको कारबाही प्रक्रिया अगाडि बढाउने, १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने, पार्टी सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन बारे बैठकमा छलफल हुने बताइएको छ ।

यस्तै  बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भने नहुने भएका छन् । एमालेबाट फुटेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले मान्यता पाएपछि बसेको गौतम सहभागी नहुने भएका हुन् ।  एमाले उपाध्यक्ष गौतमले एमाले विभाजन नहुँदै फरक सङ्गठनात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् ।

गत साता मात्रै गौतमले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठन गर्न लागेको नेकपा एकीकृत समाजवादीलाई आफ्नो समर्थन रहने जनाएका थिए । तर केही समयपछि त्यसको खण्डन गर्दै उनको सचिवालयले गौतम एमालेमै रहेको तर नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि राख्दै आएको मतभेद भने कायमै रहेको जनाएको छ ।

यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपछि गौतमले स्थायी कमिटी बैठक बहिष्कार गरेका थिए ।