पोखरास्थित मणिपाल शिक्षण अस्पताल बिक्री भएको छ। भारतीय लगानीकर्ताले अस्पताल बिक्री गरेको छ । २०५१ सालमा ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले म्याद नसकिँदै बिक्री गरेको हो । अस्पताल सवा तीन अर्बमा बिक्री भएको हो ।
पोखराकै दुई व्यवसायिक समूह बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतास र अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेलले सवा तीन अर्ब रूपैयाँमा उक्त अस्पताल किनेका हुन्। अटोवेज ग्रुपका अध्यक्ष पौडेलका अनुसार बतासले ६० प्रतिशत र पौडेलले ४० प्रतिशत लगानीमा अस्पताल खरिद गरेका हुन्।
१० हेक्टर क्षेत्रफलमा फैलिएको अस्पताल भवन १० लाख स्क्वायर फिट रहेको छ। मुख्य अस्पताल भवन रहेको जग्गा मणिपाल समूहकै नाममा रहेको छ भने बाँकी भवन तथा संरचना सरकारी जग्गामा रहेको छ।
मणिपालले पोखरा महानगरपालिकालाई जग्गा शुल्क, करबापत २८ करोड रुपैयाँ तिर्न बाँकी छ । कलेजले विभिन्न दायित्व र अन्य ठाउँमा गरी ९७ करोड ६० लाख रुपैयाँ तिर्न बाँकी छ । नेपाल सरकार र भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच १८ अक्टोबर १९९२ मा उक्त अस्पताल स्थापना गर्ने सम्झौता भएको थियो। सम्झौता भएको दुई वर्षपछि मेडिकल कलेजका रूपमा एमबिबिएस सुरू गरेको थियो।अहिले यस अस्पतालमा एमबिबिएस, पिजी र नर्सिङका कक्षा संचालनमा छ।