नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवनियुक्त वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई समर्थन गर्न नसकिने बताएका छन् ।
नयाँ दलले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रदेश १ र वागमती प्रदेशको मुख्यमन्त्री आचार्य र शाक्यलाई पार्टीमा आए सहकार्य हुने नत्र सम्भावना नरहेको बताएका हुन् ।
‘यो पार्टीमा रहेमा ठीक छ । विरोधी पार्टीमा रहेसम्म सहकार्य सम्भव छैन । शत्रुतापूर्ण ढंगले चल्नेसँग एकता र सहकार्य सम्भव छैन । सहकार्यको बाटोमा आउँछन् भने हामी सहकार्य गर्न प्रतिबद्ध छौं,’ अध्यक्ष नेपालले भने ।
शाक्य भदौ ३ गते वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलको समर्थनमा मुख्यमन्त्री बनेकी थिइन् । उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनी मुख्यमन्त्री बन्न सफल भएकी हुन् ।
यस्तै बिहीबार (आज) प्रदेश नं. १ का निर्वमान मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
उनीहरु अदालतको आदेश अनुसार नेकपा फुटेपछि माधव नेपाललाई साथ दिँदै आएका थिए । तर एमाले फुटाउँदै नयाँ दल दर्ता गर्ने प्रक्रिया सुरु गरेसँगै संस्थापन पक्षतिर लागेका थिए ।