एमालेबाट मुख्यमन्त्री बनेका शाक्य र आचार्यको पद माधवकुमार नेपालको हातमा

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवनियुक्त वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई समर्थन गर्न नसकिने बताएसँगै दुबैको मुख्यमन्त्री पद धरापमा परेको छ ।योसँगै नवनियुक्त दुवै मुख्यमन्त्रीले एक महिनाभित्र लिनुपर्ने विश्वासको मत आर्जन गर्न नसक्ने देखिएको छ । नयाँ दलले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रदेश १ र वागमती प्रदेशको मुख्यमन्त्री आचार्य र शाक्यलाई पार्टीमा आए सहकार्य हुने नत्र सम्भावना नरहेको बताएका थिए ।

पार्टी विभाजनपछि बागमती र प्रदेश १ सरकार जोगाइराख्न एमालेले मुख्यमन्त्री फेरबदल गरेको थियो । प्रदेश १ मा कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १–१ सांसद छन् । एमालेका ५१ प्रदेश सांसदमध्ये गुलेफुन खातुन किर्ते कागज मुद्दामा उच्च अदालत विराटनगरले दोषी ठहर गरेपछि फरार छन् । एमालेका ५१ मध्ये विगतमा माधवकुमार नेपाल समूहमा २१ सांसद थिए । एमालेका ५ सांसद एकीकृत समाजवादीमा जनासाथ आचार्य नेतृत्वको सरकार अल्पमतमा पर्छ ।

यसअघि एमालेमा नेपाल पक्षधर रहेका राजेन्द्रकुमार राई, राजन राई, सुनिताकुमारी चौधरी, सरिता थापा, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, होमकुमारी साँवा र उपेन्द्रप्रसाद घिमिरेमध्ये साँवा मुख्यमन्त्री आचार्यको शपथग्रहण कार्यक्रममा सहभागी भएकी थिइन् । तटस्थ बसेका सांसद सावित्रीकुमारी रेग्मी, लीलाबल्लभ अधिकारी, यशोदा अधिकारी, बलबहादुर

साम्सोहाङ, जीवन घिमिरे र पदमकुमारी गुरुङमध्ये घिमिरे, अधिकारीद्वय र साम्सोहाङ आचार्यका पक्षमा देखिएका छन् । अहिले एकीकृत समाजवादीमा राजेन्द्रकुमार, गणेशकुमार, कृष्णकुमारी, राजन, सावित्री कुमारी, सरिता, सुनिता कुमारी, खिनु लङ्वा र पदमकुमारी गुरुङ खुलेका छन् । त्यसैले नवनियुक्त मुख्यमन्त्री आचार्य अल्पमतमा देखिएका छन् ।

यस्तै बागमती प्रदेशमा पनि मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको पद पनि संकटमा परेको छ । १०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका ५६ सांसद छन्। बहुमतका लागि पनि ५६ सांसद चाहिन्छ । त्यस्तै माओवादी केन्द्रका २३, कांग्रेसका २२, नेपाल मजदुर किसान पार्टीका ३, विवेकशील साझा पार्टीका ३, राप्रपाका २ र स्वतन्त्र १ सांसद छन् ।

एमाले एकढिक्का हुँदा केपी शर्मा ओली पक्षमा ३४ र माधवकुमार नेपाल पक्षमा २२ सांसद थिए । यसअघि राजेन्द्र पाण्डे र मुनु सिग्देल एकीकृत समाजवादीका केन्द्रीय सदस्य बनिसकेका छन् । शाक्य नेतृत्वको सरकारमा सामाजिक विकासमन्त्री रहेका कृष्ण खनाल र वसुन्धरा हुमागाईं पनि एकीकृत समाजवादीतिर लागेका छन् । यी चार सांसदको मात्र समर्थन नहुँदा शाक्यले बहुमत गुमाउँछिन् ।

शाक्य भदौ ३ गते वाग्मती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलको समर्थनमा मुख्यमन्त्री बनेकी थिइन् । उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनी मुख्यमन्त्री बन्न सफल भएकी हुन् ।

यस्तै बिहीबार प्रदेश नं. १ का निर्वमान मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनीहरु अदालतको आदेश अनुसार नेकपा फुटेपछि माधव नेपाललाई साथ दिँदै आएका थिए । तर एमाले फुटाउँदै नयाँ दल दर्ता गर्ने प्रक्रिया सुरु गरेसँगै संस्थापन पक्षतिर लागेका थिए ।