भारतमा केबलकार आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। आइतबार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार ठोक्किँदा कम्तिमा दुई जनाको मृत्यु भएको हो ।
यस्तै अन्य दशजना घाइते भएका छन् । त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए।
हिन्दुस्तान टाइम्सका अनुसार केबलकारमा अड्किएकाहरूको सोमबार दिउँसोसम्म उद्धार हुन सकेको छैन् । रोपवेका कम्तीमा १२ वटा केबिनमा ५० जना अझै फसेका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्राविधिक कारणले घटना भएको देखिएको छ । घटनापछि केबलकारबाट हाम फाल्ने प्रयास गर्दा एक जोडी गम्भीर घाइते भएका छन् । केबलकारमा रोकिएकाहरूलाई ड्रोनको सहायताले खाना र पानी पुर्याइएको छ। भारतीय वायु सेनाको हेलिकप्टरको सहायताले उनीहरूको उद्धार प्रयास भइरहेको छ।
उक्त त्रिकुट केबलकार भारतको सबैभन्दा अग्लो ठाडो केबलकार हो ।