पकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग (नवाज) का अध्यक्ष शेहबाज सरिफ निर्वाचित भएका छन् । सोमबार पाकिस्तानी संसद् (नेसनल एसेम्बली) मा १७४ जनाले शेहबाजका पक्षमा भोट दिएका हुन् ।
तर, विपक्षमा उम्मेदवार नै थिएन । इमरानको पार्टी पीटीआईका शाह महमुद कुरैशीले यसअघि प्रतिस्पर्धा गर्ने घोषणा गरेका भए पनि सदनको कारबाही सुरु हुनासाथ उम्मेदवारी फिर्ता लिएका थिए ।
पाकिस्तान पिपल्स पार्टी (पीपीपी) को समेत समर्थनमा शेहबाज पाकिस्तानका २३औं प्रधानमन्त्री बनेका हुन् । पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) ले भने संसद् बहिष्कार गरेको छ । त्यस्तै पीटीआईका सांसदले सामूहिक राजीनामासमेत दिएका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले ‘आयातित सरकार’ को विरोधमा राजीनामा दिने निर्णय गरेको हो ।