भारतको झारखण्डस्थित त्रिकुट पर्वतको रोपवेमा भएको दुर्घटनामा १४ जनाको ज्यान अझै उद्धार हुन सकेको छैन । रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएपछि केबलकारमै फसेका उनीहरुको उद्धार हुन नसकेको हो । मंगलबार बिहानको कुहिरोका कारणसमेत उद्धार कार्यमा ढिलाइ भएको जनाइएको छ ।
सोमबार सेना, वायुसेना र एनडीआरएफले एमआई–१७ हेलिकप्टरको सहयोगमा उद्धार सुरु गरेका थिए । साँझसम्म ३३ श्रद्धालुको सकुशल उद्दार गरिए पनि १४ जना अझै फसेका छन् । अलपत्र परेका सबै पर्यटकका लागि केही खानाका प्याकेट, पानी र राहत सामग्री ड्रोनबाट पठाइँदैछ । उनीहरुलाई सहयोग गर्न प्रशासनको टोली रातभर खटिएको छ ।
केबलकारमै फसेकाहरुमा अमित कुमार, खुशबु कुमारी, जयकुमारी, छठीलाल शाह, ड्युटी राम, वीरकुमार, नमन, अभिषेक, भागलपुरका धीरज, कौशल्या देवी, अन्नु कुमारी, तनु कुमारी, डिम्पल कुमार र चालक रहेका छन् ।
सोही क्रममा उद्धारका क्रममा दुम्का जिल्ला शिकारीपाडाका रोजगार सेवक राकेश मण्डल (४८) साँझ ५ः३० बजे हेलिकप्टरमा चढ्ने क्रममा सेफ्टी बेल्ट भाँचिएकाे थियाे । जसका कारण उनको करिब डेढ हजार फिट गहिरो खाडलमा खसेर मृत्यु भएको छ । उनी केबिन नम्बर १९ मा यात्रा गरिरहेका थिए । दुर्घटनामा हालसम्म तीन जनाको मृत्यु भएको छ ।
आइतबार साँझ ४ बजे पहाडमा बनेको मन्दिरतर्फ २६ वटा ट्रली एकैसाथ पठाउँदा दुर्घटना भएको हो । यसले एक्कासी तारमा लोड बढ्यो र रोलर भाँचियो। पहाडमा तीन वटा ट्रली ठोक्किएका छन् । जसका कारण दुईवटा ट्रली तल खसेका छन् ।
ट्रलीमा एकै परिवारका ७ जना फसे
अड्किएकामध्ये दुई ट्रलीमा देवघरको राममन्दिर रोड इलाकाका एकै परिवारका ७ जना सवार रहेको बताइएको छ । उनीहरु ट्रली नम्बर ६ र ७ मा छन् । जसमा छठीलाल साह, उनकी श्रीमती शोभा देवी, छोरा अमित कुमार, बुहारी खुशबु कुमारी, जया कुमारी, ३ वर्षीय वीर र १० वर्षीय ड्युटी रहेका छन् ।
उद्धार कार्यमा निकै कठिनाई
उद्धारमा सेनालाई निकै कठिनाइ भएको थियो । वास्तवमा ट्रलीहरू दुई पहाडको बीचमा अड्किएका छन्। तल खाल्डाे छ । हेलिकप्टर नजिक पुगेपछि हावा चल्न थालेपछि केबलकारहरू सर्न थाल्छन् । धेरै सावधानीपूर्वक एयरलिफ्टमा केही मानिसलाई डोरीको सहायताले बाहिर निकालिएको छ ।
यसैबीच झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले देवघरको अवस्थालाई नियालिरहेको र त्यस्ता परिस्थितिहरू सम्हाल्न सक्षम विशेष कमान्डोहरूबाहेक, वायुसेना, सेना र एनडीआरएफका टोलीहरू पठाइसकेको बताएका छन् । साथै पर्यटन मन्त्री हफिजुल हसनले रोपवे सञ्चालन गर्ने दामोदर भ्याली कर्पोरेशनलाई कालोसूचीमा राखिने बताएका छन् । ‘कसरी भाँचियो, मर्मतसम्भार कसरी भइरहेको थियो, यी सबै विषयमा अनुसन्धान हुनेछ । आगामी दिनमा पर्यटकको सुरक्षाका लागि वैकल्पिक सडक निर्माण गरिनेछ ।’ उनले भनेका छन् ।
त्रिकुटाचल महादेव मन्दिर र ऋषि दयानन्दको आश्रम त्रिकुटा पहाडमा अवस्थित छ । हरेक वर्ष हजारौं मानिसहरू यहाँ पिकनिक र मन्दिर दर्शन गर्न जान्छन्। यसका लागि यहाँ रोपवे बनाइएको छ । यो झारखण्डमा एक मात्र र बिहार झारखण्डमा उच्चतम रोपवे छ। त्यहाँ पुग्न प्रत्येक ट्रलीमा ४-४ जना जनालाई माथि पठाइन्छ।