बालुवामा हरियाली फलफूल र तरकारी खेती

महोत्तरी । न चैत महिनाकोे प्रचण्ड गर्मीको पर्वाह, न त नजिकिँदै गरेको स्थानीय तह निर्वाचनको रन्कोको प्रभाव । बिहान उज्यालो भएदेखि साँझसम्म बगरमा आफ्नै पाखुरीको भरमा नङ्ग्रा खियाउनु सधैँको बाध्यता । यही बगरको बलौटे जग्गा खोस्रेर महोत्तरीको भङ्गाहा नगरपालिका–६ पर्सा र सग्रामपुर बस्तीका किसानले ‘सुन’ फलाएका छन् । अहिले रातु नदीको पुरानो बगर किसानको मिहिनेतले हाँसेको छ । जता हे¥यो, सबैतिर हराभरा ।

बालुबुर्जको बलौटे जग्गा सग्रामपुर र पर्साका किसानको निरन्तरको मिहिनेतले हराभरा भएको छ । अहिले पुरानो रातु बगरको २०५ बिघा बलौटे जग्गामै फलपूmलका बिरुवा लहलहाएका छन् । तरकारी बाली फस्टाएको छ । त्यसैगरी भङ्गाहा–७ का भूमिहिन दलित पनि पछिल्लो पाँच÷छ वर्षयता बगरको पर्ती ऐलानी जग्गामा तरकारी बाली लगाउन थालेपछि जीवनमा खुसी आएको बताउँछन् ।

“यो बगरले गुजारा मात्र हैन, हाम्रो फरक परिचय पनि दियो, हाम्रो मिहिनेत हेर्न आउनेले हामीलाई मिहिनेती र पौरखी किसान भन्छन्, जीवनमा केही असल गर्दै रहेछौ भन्ने लाग्छ,” पर्साका किसान रामनारायण सिंह थारू भन्छन् । रातु नदीले बालुवा थुप्य्राएको बगर जग्गामा अब लहलह बाली झुलेपछि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–६ र ७ का किसान आफ्नो दिन फिरेको बताउँछन् । भङ्गाहा–६ का पर्सा, सग्रामपुर र वडा–७ धनषपुरको माझमा रहेको विगतमा रातु नदीले बगर बनाएको २०५ बिघा जग्गामा अहिले लहलह बाली झुलेपछि किसानले दिन फिरेको अनुभूति गरेका हुन् ।

विगतमा रातु नदीको बाढीले उर्वर जग्गा काटेर बगर बनाएपछि सुकुम्वासी बनेका किसान पछिल्ला सात वर्षयता सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिवास (बोलीचालीमा पैरवी मञ्च) को साथ पाएपछि अहिले बगरमा सुन फलाउने भएका छन् । “हजुर, देखैछी न..अखैन तरकारी निकैैल रहल अई” (हजुर, अहिले तरकारी निक्ली रहेको देखिरहनु भएको छ नि ! ) खेतमै पुगेका सञ्चारकर्मीहरुसँग बगर खेतमा वैशाखी सिजनका लौका, फर्सी, खोर्सानी टिपी रहेकी भङ्गाहा–६ पर्साकी रामज्योति हुजदार थारू भन्छन्, “अइस पहिने अघनी सिजनके तरकारी बेच चुुकल छी, ओम्भर देखु आब भदैया तरकारी लगेवाक तयारी भरहल अई” (यसअघि हिउँदे सिजनको तरकारी बेची सक्यौँ, उता हेर्नोस् भदौरे सिजनको तरकारी लगाउन तयारी गरिँदैछ) । रामज्योतिको एक बिघा नदीउकास जग्गामा आँपका कलम हुर्कंदैछन् भने त्यहीँ जग्गामै परवल, फर्सी, लौका, बोडी, करेलासहितका वैशाखी मौसम (सिजन) का लहरे तरकारी बाली फस्टाएका छन् । लहरामा हुर्कंदै गरेको फर्सीको कैंडो (गट्टों) देख्दै मन प्रफुल्लित हुने गरेको किसान बताउँछन् ।

रामज्योतिजस्तै पर्सा बस्तीका बिन्दादेवी हुजदार र पुनमदेबी हुजदार पनि अहिले रातोदिन बगर बगैँचा र त्यहाँको तरकारी खेतीमा व्यस्त देखिन्छन् । आफ्नो १२ कट्ठा बगर खेतमा ५६ वटा आँपका रूख हुर्काएका किसान शङ्कर हुजदारले बितेका चार वर्षमा खोर्सानी, हर्दी (बेसार) जस्ता मसला र मौसमी तरकारी बालीबाट घर गुजारा चलाएर राम्रै बचत भएको बताए । “वर्षमा एकाध लाख सञ्चय भएपछि बल्ल ‘लाख’ भन्ने कति बुझ्न थाल्यौं” हुजदार भन्नछन् ।

बगर बगैँचा र तरकारी खेती थालेका यहाँका किसानले मौसमी तरकारी खेतीमात्र लगाउने गरेका छन् । “बेमौसमी तरकारी खेती में विषादिके ज्यादा प्रयोग कर परैछै” (बेमौसमी तरकारी खेतीमा विषादीको प्रयोग गर्नुपर्छं) पर्सा बस्तीकी किसान बिन्दादेवी हुजदार भन्नुहुन्छ, “ई महग आ स्वास्थ्यके लेल हानिकार होइछै, तइलक हमसभ मौसमी तरकारी खेती करैछि” (बेमौसमी तरकारी खेती मँहगो र स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ नि ! त्यसैले हामी मौसमी तरकारी खेती नै गर्छौं)।

विसं २०३० को बाढीले जग्गा सबै काटेर बलौटो थुपारेपछि पर्साका आदिवासी थारू लालपुर्जामा जग्गा भए पनि सुकुम्वासी भएका थिए । २०६४ सालयता जनताको तटबन्ध कार्यक्रमले रातु नदीका तीन भँगाला बाँधेर एउटामा मात्र पानी बग्ने बनाइएपछि नदीउकास भएको त्यहाँको बगरमा पैरवी मञ्चले बगर खेती गर्न किसानलाई उत्साहित बनाएपछि पछिल्ला छ वर्षयता आदिवासी थारू अब्बल किसानमा दरिएका छन् ।

भङ्गाहा–६ र ७ को २०५ बिघा नदीउकास बगर जग्गामा अहिले मालदह, बम्बै, दशहरी, कलकतीया र जर्दा जातका १८ हजार आँपका बिरुवा हुर्कंदै छन् । आँपबाहेक लिची र कागतीका बिरुवा पनि हुर्किरहेका देखिन्छन् । बगर जोतिएको पहिलो वर्ष (२०७३)नै लगाइएका आँप त दुई वर्षयता फल्दैछन् । पर्सा, सग्रामपुर र धनषपुरसहित तीन बस्तीका १०८ परिवारले बगैँचा लगाइएको बगरमा मौसमी तरकारी बाली लगाएर बर्सेनि लाखौँ आम्दानी गरिरहेका पर्सा बस्तीकै सामाजिक, राजनीतिक कार्यकत्र्ता रामनारायण हुजदारले बताए ।

पैरवी मञ्चले पहिलोपल्ट सन् २०१५ मा त्यहाँका बाढीपीडित किसानलाई सङ्गठित गरेर ‘रातुखोला फलपूmल तथा वृृक्षरोपण आय आर्जन समूह’ गठन गरेर खेतीमा लाग्न उत्साहित गराएपछि अहिले बगर हराभरा भएको हो । किसानलाई पैरवी मञ्चले आँप, लिची र कागतीका बिरुवा तथा तरकारीका बीउबिजन र प्राविधिक सहयोग पु¥याएको समूहका अध्यक्ष जासर यादव बताए । “पैरवी मञ्चले बगरमै ठाउँठाउँमा बोरिङ पनि जडान गरिदिएको छ,” अध्यक्ष यादवले भन्नुभयो, “मुख्य कुरा त हौसला हो, जुन पैरवी मञ्चले यहाँका किसानलाइ दियो ।” यहाँका किसान आफ्नो र आम उपभोक्ताको स्वास्थ्यप्रति सचेत भएकाले प्राङ्गारिक खेती (आर्गेनिक) गर्ने गरेका यादवको भनाइ छ । बजारमा यहाँका किसानको उत्पादन उपभोक्ताले पहिलो रोजाइमा पर्ने गरेको यादव बताउँछन् ।

यसअघिका जग्गाधनी यादव र थारू जातिका किसानले बगरमा आ–आफ्नो पुरानो जग्गामा अहिले साँध लगाएका छन् । बगरकै नदीउकास २५ बिघा ऐलानी पर्ती जग्गा भने धनषपुरका मुसहर, चमार, दुसाध र खत्वे जातिका दलित समुदायले जोतखन गरेर बगैँचा र तरकारी बाली लगाइरहेका छन् । नदीउकास ऐलानी जग्गामा बगर बगैँचा र तरकारी खेती गर्न थालेपछि कमाउन पञ्जाव, हरियाणा जाने गरेका दलित परिवारका युवा यहीँ मिहिनेत गरेर ‘सुन’ फलाइ रहिएको बताउँछन् ।

सम्बन्धित समाचार