मुख्यमन्त्रीद्वय आचार्य र शाक्यले एकीकृत समाजवादी रोजे पद जोगिन्छ: नेतृ झाँक्री

नेकपा एकिकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य र वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो पार्टी रोजे उनीहरुलाई नै प्रदेशसभामा विश्वासको मत दिने बताएकी छन् ।

शनिबार विराटनगरमा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले मुख्यमन्त्रीद्वयले एकीकृत समाजवादी दल रोजेमा मुख्यमन्त्री पद सुरक्षित गरिदिने बताएकी हुन् । ‘दल छान्ने अधिकार भदौ २२ गतेसम्म छ । उहाँहरुले नेकपा एकीकृत समाजवादीतर्फ कायम राख्नुभो भने उहाँहरुलाई नै विश्वासको मत दिन कोशिस गर्छौं’ नेतृ झाँक्रीले भनिन् ।

नेतृ झाँक्रीले मुख्यमन्त्री आचार्य र शाक्य एमालेमै रहे अल्पमतमा परेर पद गुमाउनुपर्ने पनि बताइन् । ‘उहाँहरु दल त्याग गरेर हाम्रो पार्टीमा आउनुभएन भने विश्वासको मत लिनुपर्ने हुन्छ, त्यतिबेला उहाँहरु अल्पमतमा पर्नुहुन्छ’ उनले भनिन्, ‘हामीले विश्वासको मत दिने प्रश्न आउँदैन ।’

प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्म दल रोज्ने अधिकार भएकोले त्यसपछि नै प्रदेश सरकार गठन र केन्द्र सरकार विस्तारको प्रक्रिया सुरु हुने झाँक्रीले बताइन् । उनले आफूहरुको दल अझै बन्ने क्रममा नै रहेकोले सरकारमा सहभागी हुन अझै निर्णय गरिनसकेको सुनाइन् ।

झाँक्रीले बजारमा चलेको हल्लाजस्तो गठबन्धन टुट्ने वा भत्किने अवस्था नरहेको बताइन् । ‘प्रतिनिधिसभाको पूरा कार्यकाल सञ्चालन गर्न, अहिलेसम्मका प्राप्त उपलब्धि संस्थागत गर्न, संविधान पूर्णरुपमा कार्यान्वयनका लागि अहिलेको गठबन्धन दलको सरकार गठन भएको छ,’ उनले भनिन्, ‘यो गठबन्धनको सरकार आउँदो निर्वाचन गराउनसम्मका लागि बनेकोले बजारमा चलेको गठबन्धन टुट्ने हल्ला निराधार हो ।’