नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले छिमेकी मुलुकसँगको सम्बन्ध बिगार्न खोजेको आरोप समेत लगाएका छन् ।
शनिवार काठमाडौँमा नेकपा एमाले महानगर भेलालाई सम्बोधन गर्दै उनले चीनसँग कुनै सीमा विवाद नरहेको बताउँदै अरू कसलाई खुसी पार्न खोजेको हो भन्दै प्रश्न समेत गरे । समितिले एउटा मात्र पनि सीमा विवाद देखाउन उनले चुनौती दिएका छन् ।
यस्तै अध्यक्ष ओलीले पार्टीबाट केही बिग्रिएका मानिस मात्र बाहिरिएकाले यसलाई पार्टी फुटेको भन्न नमिल्ने बताएका छन् । उनले पदका लागि नै माधव नेपालले अर्को पार्टी खोलेको आरोप पनि लगाए । उनले आगामी चुनावमा एक्ला एक्लै प्रतिस्पर्धा गरे एमाले बाहेक कुनै दलले एक सिट पनि ल्याउन नसक्ने दाबी गरे ।
त्यस्तै उनले अमेरिकासँग भएको एमसीसी सम्झौता झुक्काएर पास गर्न खोजेको भन्दै वर्तमान सत्तारुढ गठबन्धनप्रति आशङ्का व्यक्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमसीसीबारे धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाई छ । सम्बोधनका क्रममा ओलीले वामदेव गौतमले उपप्रधानमन्त्री खानका लागि आफूलाई गाली गरेर एमाले छाडेको आरोप लगाए ।
ओलीले अहिलेको सत्तारुढ गठबन्धनको आलोचना गर्दै मन्त्री पदका लागि गठबन्धन भएको समेत तर्क गरेका छन् । उनले एमाले अझ सशक्त ढङ्गले अघि बढ्ने भन्दै उच्च मनोबलका साथ अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।