काँग्रेसको १४औं महाधिवेशनमा को को हुन महामन्त्रीका बलिया उम्मेदवार

नेपाली काँग्रेसको १४औं महाधिवेशन नजिकिदैं जादाँ विभिन्न पदमा उम्मेदवारी दिने र गुट उपगुटको फेरो समात्ने क्रम बढेको छ । भर्खरै मात्रै कृष्ण सिटौला समूहलाई छाडेर रामचन्द्र पौडेल क्याम्प पसेका काँग्रेस युवा नेता गगन थापा गएको सोमबार मात्रै आफु फेरि पनि महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन । थापाले सोमबार आफ्नै चुनावी क्षेत्र काठमाडौं ४ मा आयोजित कार्यक्रममार्फत फेरि पनि महामन्त्रीको उम्मेदवार बन्ने घोषणाा गरेका हुन । उनि १३ औं महाधिवेशनमा पराजित हुँदा ५ सय ८४ मत ल्याएका थिए ।

दुई पद भएसँगै यसपटक उम्मेदवारी घोषणापछि पौडेल क्याम्पमा पुगेका थापा यसपटक पौडेल समूहबाट महामन्त्रीका बलिया उम्मेदवार बन्नेछन ।
महामन्त्रीका लागि संस्थापनबाट डा। प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण र विश्वप्रकाश शर्मा मुख्य दाबेदार हुन् । यसबाहेक रमेश लेखक र एनपी साउद पनि यसपटक महामन्त्रीकाआकांक्षी देखिएका छन तर दुवैजना मुख्य दाबेदार नहुने देउवा निकट स्रोतको बुझाई छ । अन्य पद, भूगोल, जातजातिको सन्तुलन मिलाउदाँ यसपटक आकांक्षीमध्ये क-कसले उम्मेदवारी दिन्छन् त्यो थाहा हुन केही समय लाग्नेछ।

देउवा पक्षबाट अघि बढ्ने चर्चामा रहेका महत अहिले सहमहामन्त्री छन् । खाँण गृहमन्त्री छन् भने शर्मा कांग्रेसको प्रवक्ता छन् । कार्की पनि सरकारमा मन्त्री छन् ।  रमेश लेखक र एनपी साउद पनि देउवाका असाध्यै निकट र विश्वासिला नेता हुन । यी चारमध्ये दुई जना देउवातिरबाट महामन्त्रीको उम्मेदवार बन्न सक्ने बताइन्छ । यी ६  जनाले नै अहिलेसम्म महामन्त्रीको दाबीलाई छोडिसकेका छैनन् । तर रामचन्द्र समूहमा पुगेका थापा महामन्त्रीको उम्मेदवार पक्का भईसकेकाले संस्थापन पक्षबाट उनलाई टक्कर दिनेगरि विश्वप्रकाश शर्माले उम्मेदवारी दिने पक्काजस्तै बनेको छ । शर्माले यही साता महामन्त्री पदमा उम्मेदवारी दिनेछन्। शर्माले  बिपी जन्मजयन्तीको अवसर पारेर भदौ २४ गते औपचारिक घोषणा गर्ने तयारी रहेको स्रोतको बुझाई छ । महामन्त्रीमा कुनै समूहबाट नपरे पनि एक्लै भए पनि लड्ने बताएका थापा र देउवा समूहबाट प्रवक्ता शर्मा आमनेसामने हुनेछन्।
महामन्त्रीको दौडमा रहेका नुवाकोटे दाजुभाई डा. रामशरण महत र डा. प्रकाशशरण महत १४औं महाधिवेशनमा आमने सामने हुने सम्भावना छ । संस्थापन समूहबाट डा.प्रकाशशरणको उम्मेदवारी करिब करिब पक्काजस्तै बनेका चर्चा भएसँगै पौडेल समूहबाट डा. रामशरण महत अघि बढेका छन । अघिल्लो पटक देउवा समूहबाट मैदानमा उत्रिएर पराजित भएका थापाका ससुरा अर्जुननरसिह केसी यसपटक पौडेल समूहबाट महामन्त्रीको मैदानमा उभिने छन । तर, यो समूहबाट रामशरण अघि बढेको अवस्थामा दुवै नुवाकोटका भएकाले केसीको सम्भावना न्युन बन्ने चर्चा काँग्रेसवृतमा छ ।

पौडेल समूहमा महामन्त्रीभन्दा सभापतिका दाबेदार धेरै छन् । सभापतिमा रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङसम्मको दाबी छ ।

पौडेल सभापतिको उम्मेदवार भए महामन्त्रीका लागि डा. रामशरण महत, र गगन थापा उम्मेदवार बन्न सक्छन । शेखर कोइराला सभापतिको उम्मेदवार बन्दा पनि गगन थापा महामन्त्रीका बलिया दाबेदार हुन् । यस अघि तेस्रो गुटबाट महामन्त्रीको उम्मेदवार बन्दा जित्न नसके पनि मुख्य समूहबाट उम्मेदवार बन्न सके गगनले सहजै महामन्त्री जित्ने धेरैको हिसाब छ ।

पौडेल सभापति बन्ने अवस्था आउँदा अहिलेसम्म सभापतिमा दाबी गरिरहेका शेखर कोईराला नै अन्तिममा महामन्त्रीको उम्मेदवार बन्ने केहिको आँकलन छ । यस्तो अवस्था आए थापा र कोईराला नै पौडेल समूहबाट महामन्त्रीको उम्मेदवार हुने पक्का हुन सक्छ ।

सभापति र उपसभापतिको उम्मेदवारको जोड घटाउमा कोईराला समूहबाट सुजाता कोइरालालाई महामन्त्रीको उम्मेदवारको रुपमा अघि सार्ने सम्भवनालाई पनि नकार्न सकिदैन । तर सुजताको विषयमा देउवाले मन्त्रीमण्डल बिस्तार गरेपछि मात्रै तय हुनेछ ।
महामन्त्रीका अन्य दाबेदारमा डा। मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, प्रदीप पौडेल, गुरुराज घिमिरे, धनराज गुरुङ, दिलेन्द्रप्रसाद बडु पनि छन् । तर यी नेता प्रमुख दाबेदार भने होइनन् ।

उम्मेदवारको लागि वरिष्ठ नेताको सन्तुलन मिलाएर मात्रै पनि पुग्ने छैन । भूगोल, जातजातिको सन्तुलन पनि अर्को महत्वपूर्ण पक्ष हो । क्लस्टरगत रुपमा धेरै सह९महामन्त्री हुने हुँदा तेस्रो तहका नेताहरुलाई व्यवस्थापन गर्न सक्ने ठाउँ भने यसपटक छ ।