गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको विरुद्ध ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोदीको नाम नलिई छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै आपत्ति प्रकट गरेको हो ।
नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ’, विज्ञप्तिमा भनिएको छ, ‘मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैमा आग्रह गरिन्छ ।’
विज्ञप्तिमा मित्रराष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएका र भविष्यमा पनि यही गरिने उल्ल्लेख छ ।
दार्चुला घटना र नेपाली आकाशमा अनधिकृत भारतीय उडान गरेको विषयमा सरकार चुप लागेको भन्दै शुक्रबार सत्ता गठनबन्धनमा आबद्ध दल नेकपा (एकीकृत समाजवादी) को भ्रातृ सगंठन अनेरास्ववियूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको थियो ।















