काठमाडौं । लकडाउनको समयमा पार्टी गरेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई प्रहरीले जरिवाना तिराउने भएको छ । बीबीसीले जनाएअनुसार उनीसँगै अर्थमन्त्री ऋषि सुनकलाई पनि प्रहरीले जरिवाना तिराउने भएको हो ।
प्रधानमन्त्रीलाई जरिवाना तिराउने सम्बन्धी सूचना मेट्रोपोलिटन प्रहरीबाट प्राप्त भएको बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटले पुष्टि गरेको छ ।
उनीहरुले १० डाउनिङ स्ट्रिट र ह्वाइटहलमा १२ पटक लकडाउनको उल्लङ्घन गरेको विषयमा बेलायतको मेट्रोपोलिटन प्रहरीले अनुसन्धान गरेको थियो ।
यसअघि प्रहरीले लकडाउनको उल्लङ्घन गर्नेको पहिचान सार्वजनिक नगर्ने जनाएको थियो । यद्यपि १० डाउनिङ स्ट्रिटले भने यदी प्रधानमन्त्रीमाथि प्रहरीले कारवाही गरेको भए यसलाई सार्वजनिक गरिने जनाएको थियो ।