रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिको ज्यान गयो

रोल्पामा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –१० थवाङमा गए राति पूर्णबहादुर थापाको घर पहिरोले घर पुरिँदा उनका ५ वर्षीय छोरा र ७० वर्षीया आमा गौरी थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार राति करिब २ बजे दुई सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा उनीहरूको मृत्यु भएको हो । पहिरोमा घरमुली थापासहित दुई जना सामान्य घाइते भएका छन् ।

बालकको शव राति नै भेटिए पनि वृद्धाको भने बिहान भेटिएको प्रहरीले जनाएको छ । पहिरोले एक घर पूर्ण रूपमा र दुई घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

यस्तै रोल्पाकै सुलिन स्मृति गाउँपालिका–२ सुनिचौरमा मर्मतका लागि राखेको रोल्पा सनलाइट बोडिङ्ग स्कुलको बस फगाम खोलाले बगाएको प्रहरीले जनाएको छ । रोल्पाकै सुनछहरी गाउँपालिका–६ मा नोवाङखोला लघुजलविद्युत आयोजनाको करिब ५० मिटर बाँध बाढीले बगाएको प्रहरीले जनाएको छ ।