नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पास नहुने घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा बसेको वाईसीएलको पहिलो केन्द्रीय समिति बैठकमा प्रचण्डले एमसीसी पास नहुने बताएका हुन् ।
राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति नजनाउने उनले बताए । उनले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीको आगामी पुसमा हुने राष्ट्रिय सम्मेलनसँगै पार्टीले आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने भएकाले त्यसका लागि तयार रहेर बस्न आग्रह समेत गरे ।
यस्तै वाईसीएल संयोजकमा सुमन देवकोटालाई चयन भएका छन् । बैठकले सह–संयोजकमा सुबोधराज शेर्पालीलाई चयन गरेको छ । बैठकले हालको केन्द्रीय समितिलाई तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरेको वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जानकारी दिए । उनले छिटै राष्ट्रिय सम्मेलन गर्ने गरि संयोजक र सहसंयोजक तय गरेको बताएका छन् । बैठकले वाईसीएल एकढिक्का रहेको सन्देश गएको उनको भनाई छ ।