रवि लामिछानेलाई खोया प्रहार गर्ने रानाभाट साधारण तारेखमा छुटे 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खोया प्रहार गर्ने सन्तोष रानाभाट साधारण तारेखमा रिहा भएका छन् । कास्की जिल्ला प्रशासन कार्यालयले उनलाई साधाररण तारेखमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका हुन् ।

लामिछानेलाई खोया प्रहार गरेको अभियोग पुष्टि हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार उनलाई साधारण तारेखमा छाडेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए । प्रहरीसँगको बयानमा पनि रानाभाटले आफूले जानी जानी लामिछानेलाई खोया प्रहार नगरेको बताएका थिए।

गत पुस ७ गते पोखराको अमरसिंह चोकमा उनले रास्वपा सभापति लामिछानेमाथि खोया प्रहार गरेका थिए । उनीमाथि १० दिनको म्याद थप गरी अभद्र व्यवहारमा अनुसन्धान भएर साधारण तारेखमा छाडिएको हो । रानाभाट लमजुङको राइनास नगरपालिका वडा नम्बर ८ भाटगाउँका हुन् ।