भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका १० जोडीलाई सम्मान गरेको छ।
आइतबार एक कार्यक्रम गरी महानगरले सबै जोडीलाई एकरएक लाख रुपैयाँसहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नविन विक र कमला श्रेष्ठ, भरतपुर–११ का विवेक सुनार र अमिबका कार्की, भरतपुर–१६ सुशिल परियार र सुस्मिता बुढाथोकीको जोडी रहेका छन् । यस्तै भरतपुर–२५ का अविनास सुनार र मिना भुजेल, भरतपुर १४ विवस महतो र प्रतिभा सुनार, भरतपुर १४ कै पदम बहादुर विक र फुलमायाँ लावती, भरतपुर १५ का विनोद परियार र अरुणा राई, भरतपुर ६ का सुवास विक र मायाँ कुमालको जोडी रहेका छन् ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विगत ४ वर्षदेखि सुरुवात भएको सम्मान कार्यक्रममा क्रमश जोडीको संख्या वृद्धि हुदै गएको बताइन् । भरतपुर महानगरपालिकालाई सभ्य र सुसंस्कृत बनाउने उद्देश्यले यो अभियानको थालनी गरिएको बताइन् । जातीय विभेदलाई अन्त्य गराउन यस्ता कार्यक्रमलाई प्राथामिकतामा राखेको प्रमुख दाहालले उल्लेख गरेकी छन् ।
भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विषयमा फड्को मारेको र जात जातिमा हुने विवेद अन्त्यको लागि सम्मान कार्यक्रम गरिएको बताए । नेपालका ७५३ पालिका मध्ये भरतपुर महानगरले अन्तरजातीय जोडीलाई सम्मान गरी उदाहरणीय कार्य गरेको उपप्रमुख अधिकारीले बताए ।
महानगरले यसअघि १३ जोडीलाई सम्मान गरिसकेको छ ।