बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले असोज ११ गतेबाट सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ ।
अंकित मूल्य १ सयका दरले कुल ८ लाख कित्ता सेयर निष्कासन हुन लागेको हो । कुल निष्कासनमध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । यसैगरी, २ प्रतिशत १६ हजार कित्ता कर्मचारीका लागि छुट्याएको कम्पनीले जानकारी दिएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट रहेको छ । बुद्धभूमिको आईपीओ १० देखि ५० हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
कम्पनीको आइपिओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरो सेयर र आफ्नो बैंक खाता रहेको शाखाबाट पनि आवेदन दिन सकिन्छ ।
कम्पनीले नुवाकोटमा तल्लो ताँदी खोलाको पानीबाट ४.९९ मेगावाट क्षमतामा बिजुली उत्पादन गर्ने उद्देश्य लिएको छ । आयोजनाको लागत प्रतिमेगावाट २३.८ करोड रुपैयाँ रहेको छ । समग्रमा आयोजनाको काम ९० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ ।