मुख्यमन्त्री सोडारीले गरे मन्त्रीमण्डल विस्तार, सात मन्त्री थपिँदा ५ जना विना विभागीय

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्री मण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री सोडारीले सोमबार मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरूले सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सोमबार साँझ ६ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख नाजिर मियाँले सामाजिक विकास मन्त्री ओमविक्रम भाट सरल, बिना विभागीय मन्त्रीहरू अक्कल रावल र लक्ष्मी विकलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

यस्तै, नेकपा एमालेबाट आर्थिक मामिला मन्त्री बनेका सुरेन्द्र पाल, बिना विभागीय मन्त्री बनेका वीरबहादुर थापा र हिरा सार्कीको पनि प्रदेश प्रमुख मियाँबाट पद तथा शपथ ग्रहण भएको छ ।

यस्तै, बिना विभागीय मन्त्री बनेका एकीकृत समाजवादी पार्टीकी माया पन्तको पनि पद तथा शपथ ग्रहण भएको हो ।

उद्योग, वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका ताराप्रसाद जोशीले पद तथा गोपनीयताको शपथ लिन अस्वीकार गरेका छन् । उनले चित्त बुझ्दो मन्त्रालय नपाएको भन्दै शपथ लिन अस्वीकार गरेको बताइएको छ ।

८ जनालाई सोमबार नै मुख्यमन्त्री दीर्घ सोडारी मन्त्रीमा नियुक्त गरेका थिए । यसअघि सोडारीले यसअघि नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास र टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री नियुक्त गरेका थिए । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।