कपिलवस्तुको बुद्ध भूमि नगरपालिका ४ झडुलामाईमा यात्रु बाहक बस र पिकअप ठोकिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य आठ जना घाइते भएका छन् ।
काठमाडौँबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु १ च ९२८४ नम्बरको पिकअप मङ्गलबार बिहान ५ः३० बजे एक आपसमा ठक्कर खाएका थिए । घटनामा परी पिकअप चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीले बताए ।
ठक्कर पछि पिकअपमा च्यापिएका बढईको २ घण्टापछि उद्धार गरिएको थियो । घाइतेहरू लाई उपचारको लागि बुटवल पठाइएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीर बहादुर सुनारले बताए ।













