नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आगामी महाधिवेशनका लागि आफूलाई पार्टी सभापतिको उम्मेदवारी दिनबाट रोक्ने प्रयास भइरहेको आरोप लगाएका छन् । शनिबार नेपाली काँग्रेस काठमाडौँ १७ नम्बर वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नेता सिंहले आफूले पार्टीका लागि धेरै योगदान गरेको भन्दै आफु पार्टी सभापतिको योग्य उम्मेदवार भएको समेत बताए । पार्टीका लागि केही नगर्नेहरू सभापतिको उम्मेदवार हुनसक्ने तर काठमाडौँका सक्षम नेताले अवसर नपाउने अवस्था देखिएको उनको भनाई छ ।
नेता सिंहले पार्टी सभापतिका लागि आफु सक्षम रहेको तर्क गरेका छन् । राजनीति भनेको सेवाको क्षेत्र भएको भन्दै देश र पार्टीलाई अघि बढाउनका लागि सक्षम नेताको खाँचो रहेको उनले बताए । त्यस्तै उनले कर छुट लगायतका काममा सरकारमा बस्नेले फाइदा लिएको हल्ला चलेको भन्दै प्रधानमन्त्रीले यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने उल्लेख गरेका छन् । नेता सिंहले प्रधानमन्त्रीले सकेसम्म चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने पनि बताए । सरकारको नेतृत्व गरिरहेको काँग्रेसले जनताबाट आउने प्रश्नलाई समाधान गर्नुपर्ने उनको भनाई छ ।













