एमाले बैठक : तीनवटा प्रतिवेदनमाथि १० वटा समूहगत छलफलबाट आएका निष्कर्ष प्रस्तुत

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक, सांगठानिक तथा विधान संशोधन प्रस्ताव प्रतिवेदनमा १० वटा समूहगत छलफलबाट आएको निष्कर्ष प्रस्तुत गरिएको छ । तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार बसेको बैठकमा विधान अधिवेशनमा पेस गर्ने तीनवटा प्रतिवेदनमाथि समूहगत रूपमा आएका निष्कर्षहरू प्रस्तुत गरिएको एमाले प्रचार प्रसार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

समूहगत छलफलबाट पार्टीलाई समावेशी चरित्रको बनाउनुपर्ने, निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्ने, पहिलेको भन्दा राम्रो परिणाम ल्याउनुपर्ने लगायत सुझाव आएको भट्टराईले बताएका छन् । त्यस्तै प्रदेश र केन्द्र चुनावमा बहुमत ल्याउनेगरि तयारी गर्नुपर्नेमा पनि केन्द्रीय सदस्यहरूले जोड दिएको उनले जानकारी दिए । आइतबारको बैठकमा तीनवटै प्रतिवेदनमा आएका सुझावमाथि अध्यक्ष केपी ओलीले लगायतले जवाफ दिने भट्टराईको भनाई छ ।

एमाले केन्द्रीय कमिटी बैठकमा आइतबार ११ बजे पुन बस्नेछ । एमालेको विधान महाधिवेशन भने आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।