दल विभाजन अध्यादेश ल्याएर सत्तारुढ गठबन्धनले राजनीतिक बेइमानी गरेको गोकर्ण विष्टको आरोप

नेकपा एमालेका सचिव गोकर्ण विष्टले २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका छन् । नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा विष्टले एमाले कमजोर पार्न २० प्रतिशतमा दल विभाजन अध्यादेश ल्याएर गठबन्धन दलले राजनीतिक बेइमानी गरेको आरोप लगाएका हुन् । उनले दल विभाजन अध्यादेश ल्याउनु संवैधानिक र नैतिक हिसाबले पनि बेठिक भएको तर्क गरेका छन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारले ४० प्रतिशतले दल फुटाउने अध्यादेश ल्याउँदा विरोध गर्ने माधव र झलनाथ खनालले काँग्रेस र माओवादीसँग मिलेर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न अध्यादेश ल्याएको बताए । विष्टले १० बुँदे सहमतिबाट एमाले पुरानै सङ्गठनमा फर्किएपछि एकतामा आएको बताएका छन् । उनले एमालेले धेरै विकासका काम गरेकाले आगामी चुनावमा बहुमत सहित सरकारमा जाने दाबी गरे । नेपालको राजनीतिमा एमाले जङ्गलको अग्लो रुखजस्तै रहेको र अरू दलसँग एक्लै लड्ने सामर्थ्य राख्ने धारणा राखेका छन् ।