परराष्ट्रमन्त्री खड्काको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर

परराष्ट्रमन्त्री डा. नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ। मंगलबार अधिवक्ता विशाल न्यौपानेले शपथसम्बन्धी संघीय कानुन नै नभएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ६ गते परराष्ट्रमन्त्री खड्कालाई पद तथा गोपनीयताको शपथ गराएको भन्दै रिट दायर गरेका हुन् । उनले शपथसम्बन्धी कानुन निर्माण नगरी कसैलाई मन्त्रीको हैसियतमा सपथ नगर्न–नगराउन आदेश पनि मागेका छन्। सर्वोच्च अदालतका अनुसार यो रिटमा बुधबारका लागि पेशी तोकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्रीमा नियुक्त गरेपछि असोज ६ गते खड्काले राष्ट्रपतिबाट शपथ लिएका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको शपथसम्बन्धी अध्यादेश संसदबाट पारित नभएपछि निष्क्रिय भएको छ । त्यसैले हाल मुलुकमा शपथसम्बन्धी संघीय कानुन छैन ।

यसअघि मन्त्रिपरिषद् बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्ने निर्णय पनि गरेको छ । सोमबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।