प्रधानमन्त्रीले देउवाले बोलाएको सर्वदलीय बैठक एमालद्धारा बहिष्कार

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले सहभागी नहुने भएको छ । सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि आज बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको बैठक एमालले बहिष्कार गर्ने भएको हो । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको छ ।

बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सभामुखको केही कार्यप्रति असन्तुष्ट जनाउँदै चालु अधिवेशनको सुरुदेखि नै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका शीर्ष नेताको सहभागिता रहने बताइएको छ ।
यसअगाडि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित रहेका थिए।