सिंहदरबारभित्रै बालश्रम, काठमाडौं महानगरले गर्‍यो पाँच जनाको उद्धार

काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रका विभिन्न क्यान्टिनमा खटाइएका पाँच बालबालिकाको उद्धार गरेको छ ।

बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घर (क्यान्टिन) अनुगमन गरेको महानगर टोलीले त्यहाँ काम गर्ने पाँच बालश्रमिक उद्धार गरेको हो । उद्धार गरिएका बाल श्रमिकहरू उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय र केन्द्रीय सेवा केन्द्रका क्यान्टिनमा काम गरिरहेका थिए ।

पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना निकालेको थियो ।

तर पनि धेरै ठाउँमा बालश्रम गराइरहेको पाएपछि महानगरले बालबालिकको उद्धार गर्ने अभियान चलाएको छ ।

यसअघि महानगरले विभिन्न ठाउँमा श्रममा लगाएका बालबालिकालाई उद्धार गरेको थियो । उद्धार गरेका बालबालिकालाई मानव सेवा आश्रममा राखिँदै आएको छ।