ओलीले एकै पटक ७५३ वटै पालिकालाई सम्बोधन गर्ने

नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले एकैसाथ ७५३ वटै पालिकालाई सम्बोधन गर्ने भएका छन् ।

उल्लेखित मितिमा हुन गइरहेको पालिका अधिवेशनका विषयमा पार्टीको केन्द्रीय कार्यालयले पालिकामा ८ बुँदे पत्राचार गरेको छ । जसमा अधिवेशनका विषयमा सहजिकरण विषयदेखि अध्यक्ष ओलीले सम्बोधन गर्ने विषयवस्तु समेटिएका छन् । विशेष परिपत्रमा ७५३ वटै पालिकामा ओलीले सम्बोधन गर्ने भएका हुन् ।

‘वडा अधिवेशनको माध्यमबाट नेट सुविधा भएका वडाहरूको केन्द्रीय अध्यक्षद्वारा उद्घाटन र सम्बोधन गरिनेछ र पालिका अधिवेशनहरूको ७५३ वटै पालिकाको एकसाथ पार्टीका अध्यक्ष ओलीद्वारा एकसाथ सम्बोधन गरिने व्यवस्था गरिनेछ ।

यस कार्यको लागि लिंक ५ गते पठाइनेछ । यसको लागि सम्भव भए स्क्रिनको व्यवस्थापन गर्ने र यदि सम्भव नभए मोबाइलबाट लिंक जोडेर लाउड स्पिकरमा अधिवेशन परिसरमा अध्यक्षको सम्बोधनलाई जोड्नुपर्नेछ’, परिपत्रको आठौँ बुँदामा लेखिएको छ ।