चितवनमा कारसँग ठोकिएपछि बस त्रिशूलीमा खस्यो, पाँच जनाको अवस्था गम्भीर

बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस चितवनको फिस्लिङ नजिकबाट त्रिशुली नदी किनारमा खसेको छ । दुर्घटनामा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नेपालगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको भे १ ख ४०६० नम्बरको रात्री बस काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किएपछि त्रिशूली नदी किनारमा खसेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ ।

गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा मेडिकल टिमसहित ३५ जनाको सुरक्षा फौज घटनास्थलमा पुगेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।