प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश गरेका थिए ।
नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १२८ को उपनियम(४) बमोजिम सदनमा सो प्रस्ताव पेश भएको हो ।
प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले मध्याह्न साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाएका छन् ।
नेकपा एमाले विभाजनपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परेका छन् । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्दछ । जसमा एमालेका ४१ जना सांसद मात्रै रहेको छ ।
प्रदेशसभामा अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।
राप्रपाकी इन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकाले सो गठबन्धनको पक्षमा ५० सांसद पुग्ने देखिन्छ । एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन ।
यता विपक्षी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ । आज बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।
भीम आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका थिए । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएपछि उनले नेपालको साथ छाडेका थिए।