घरायसी विवादमा मरणासन्न हुनेगरी कुटपिट

बैतडीको दोगडाकेदार गाउँपालिका-२ मल्लाढिकका ४५ वर्षीय ईश्वरीदत्त जोसी ४ कात्तिकमा मरणासन्न हुनेगरी कुटिए। उनलाई घरायसी विवादमा स्थानीय केशवराज जोसीका छोराहरू २० वर्षीय रामदत्त जोसी र १८ वर्षीय तिलक जोसीले कुटपिट गरेका हुन्।

कुटपिटबाट गम्भीर घाइते भएका ईश्वरीदत्तको अहिले धनगढी स्थीत माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। कुटिएका व्यक्तिको उपचार सुरु भए पनि स्वास्थ्यका सुधार आएको छैन।

यसरी भयो घटना

कुटपिट गर्ने रामदत्त र तिलकका जेठा दाई संग इश्वरीदत्तका भाइहरु भारतको बेङ्गलोरमा काम गर्दथे । भारतमा रहेका उनीहरु बीच मदिरा सेवन गर्दा झगडा भएको थियो । त्यहि रिसिबिलाई लिएर रामदत्त र तिलक फलामको रड बोकेर इश्वरीदत्तको घरमा पुगे घरायसी काम गरिरहेका उनलाई पछाडीबाट टाउकोमा हिर्काउदाँ उनि गम्भीर घाइते भएका हुन् ।

घाइते भएका उनि कपडाले टाउको बाँधेर १ घण्टा उकालो बाटो हिडेर स्वास्थ्यचौकी सम्म पुगे । संगै घटना बारे खोचलेक प्रहरीचौकीमा पनि खबर गरे । प्रहरीचौकीमा घाइतेको उपचार गराउने सहमती भएपछि उनलाई जिल्ला अस्पताल पठाइयो । जिल्ला अस्पतालमा समेत उपचार सम्भव नभएपछि माया मेट्रो अस्पताल धनगढी रिफर गरिएको हो ।

झगडाका क्रममा पिडक रामदत्तलाई पनि चोट लागेको र दुवैजनाको संगै उपचार भैरहेको प्रहरीले जनाएको छ । तर पिडक रामदत्तको उपचार नभइरहेको इश्वरी दत्तका भाई नरेन्द्रदत्त जोसीले बताए ।

उनले भने ‘मन्दिरका पुजारी समेत रहेका गौरीदत्त जोसीको निर्देशनमा घटना भएको हो । उनले घरायसी झगडामा आफ्ना दुइजना नातिहरुलाई इश्वरीदत्तको घरमा कुट्न लगाएका हुन् । काम गरिरहेको इश्वरीदत्तलाई पछाडीबाट हिर्काउदैँ घाइते बनाए ।’ इश्वरीदत्त घरमै बस्ने सिधासादा व्यक्ति भएको उनले बताए । घटनामा संलग्न दुवै पक्षको घर खोला वारीपारी १५ मिनेटको दुरिमा रहेको छ ।

‘आज ४ दिन भैसक्यो स्वास्थ्य अवस्थामा केहि सुधार आएको छैन् । दाईले कसैलाई पनी चिनिरहेका छैनन्, टाउको, मुख, कम्मर, पेट लगायतका ठाउँमा गम्भीर चोट छ । टाउकोमा १८ टाँका लागेका छन् । दैनिक सवा २ लाख रकम खर्च भैरहेको छ । हालसम्म ७लाख बढीको बिल आइसक्यो । पिडक पक्षका व्यक्ति सम्पर्कमा छैनन् ।’ उनले भने । प्रहरीले पिडित पक्षले उपचार गराउने भने पनि पिडित पक्ष सम्पर्कमा नआएको जोसीले बताए । उनले भने ‘पिट्ने मान्छे एकपटक प्रहरी सहित अस्पतालमा आएको थियो । उल्टै भिरबाट लडेको होला भनेर गयो । पिडितको घरमा कोहि आफन्त नभएकाले प्रहरीमा किटानी जाहेरी पनि दिएको छैन् ।’ घाइते इश्वरीदत्तको छोरा रोजगारीको सिलसिलामा भारतमा छन् ।

प्रहरीले भने दुबै पक्ष आफ्नो सम्पर्कमा रहेकाले पिडक पक्षले आफ्नै खर्चमा उपचार गराइरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता दर्शन खड्काले भने‘सबैभन्दा ठुलो कुरा मान्छेको ज्यान जोगाउनु हो । उनिहरु आपसी समझदारीमा उपचार गराउन सहमत भएर धनगढी गएकाछन् । उपचारमा आनाकानी गरेमा अवश्य जेल जान्छन् ।’ अपराधी कुनै हालतमा नछुट्ने उनले बताए ।