नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउन सक्ने बताएका छन् । श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आइतबार भएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यायालय सुधारको काम नभए बेन्च बहिष्कारसम्म पनि हुनसक्ने चेतावनी दिएका हुन् । प्रधानन्यायाधीशसँगको भेटमा आफूहरुले राजीनामा नमागेको उनले बताए ।
न्यायालयमा देखिएका समस्या समाधान हुन्न भने प्रधानन्यायाधीशले राजीनामा गर्नुपर्ने हुनसक्ने उनले बताएका छन् । प्रधानन्यायाधीश जबरा र बार पदाधिकारीहरुबीच आज छलफल भएको थियो ।
उनले न्यायाधीश नियुक्तीको विषय, न्यायापालिकाभित्र विसंगति, विकृति, विचौलियाहरु मौलाएको विषय, भ्रष्टाचार नियन्त्रणको विषय, न्यायाधीशहरुको सम्पत्ति रातारात बढ्दै जाने विषयको सम्बन्धमा, सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने लगायतका विषय र कुराहरु उठाउँदै आएको बताएका छन् ।
अदालतमा विचौलियामार्फत भइरहेको भ्रष्टाचार रोक्न न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्ने उनले बताए । तर प्रतिवेदन कार्यान्वयन हुन नसकेको भन्दै उनले भने, ‘साउन ६ गते बुझाएको प्रतिवेदन कात्तिक ७ गतेसम्म कार्यान्वयन हुन सकेको छैन । त्यसमा हाम्रो चासो हो ।’
प्रधानन्यायाधीश जबराले विकृति तथा विसंगति रोक्नको लागि विशेष पहल गर्नुपर्ने धारणा आफूहरुले राख्दै आएको पनि उनले बताउनुभयो ।















