एउटै कोठामा हुँदा पनि प्रचण्डसँग बोलेनन् लेखराज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार बिहान धनगढी विमानस्थल पुगे । उनलाई स्वागत गर्न प्रदेश इन्चार्ज खगराज भट्ट विमानस्थलमा पुगेका थिए । स्वागतपछि विमानस्थलको विशिष्ट कक्षमा प्रचण्ड पत्रकार सम्मेलनमा सहभागी भए ।

विशिष्ट कक्षको एउटा छेउमा प्रचण्ड पत्रकारसँग गफिँदै गर्दा अर्को छेउमा नेकपा एमालेका सचिव लेखराज भट्ट बसिरहेका थिए । भट्ट काठमाडौँ आउनका लागि आधा घण्टा अघिदेखि विमान पर्खिरहेका थिए । संयोगले भट्ट र प्रचण्ड आमुन्नेसामुन्ने भएका हुन् । तर, कुनै समय प्रचण्डकै विश्वासपात्र रहेका लेखराजले प्रचण्डलाई न सामान्य शिष्टाचार गरे न त बोलचाल नै भयो ।

झन्डै १५ मिनेट उनीहरू आमुन्नेसामुन्ने बसेका थिए । अन्त्यमा भट्ट आफ्नो विमान उड्ने समय भएपछि एक छेउबाट विशिष्ट कक्षबाट बाहिरिए।

त्यो दृश्यले आफूहरूलाई अचम्मित बनाएको माओवादी कार्यकर्ताले बताएका छन् । लामो समय सहयात्री बनेका भट्टले सामान्य बोलचालसमेत नगर्नु भट्टको घमण्डता भएको कार्यकर्ताले आरोप लगाएका छन् ।

नेकपा विभाजनपछि एमालेमा लागेपछि प्रचण्डले लेखराजको चर्को आलोचना गरेका थिए ।

सम्बन्धित समाचार