न्युजिल्यान्ड पहिलो पटक आइसिसी टि-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनल खेलमा साविकको उपविजेता इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो ।
जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले अविजित रहँदै सर्वाधिक ७२ रनको योगदान दिए । त्यस्तै, विकेटकिपर डेभन कन्वेले ४६ रन तथा जिमी निशमले २७ रन जोडे ।
इंग्ल्यान्डका लागि लियाम लिभिङस्टोन र क्रिस वोक्सले समान २/२ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । इंग्ल्यान्डका मोईन अली सर्वाधिक ५१ रनमा अविजित रहेका थिए । डेविड मलानाले ४१ तथा जोस बटलरले २९ रन जोडे ।
न्युजिल्यान्डका ईश सोधी, एडम मिल्ने, टिम साउथी र जेम्श निसमले १–१ विकेट लिए ।
न्युजिल्यान्डले अब उपाधिका लागि आज हुने दोस्रो सेमिफाइनलको अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।















