सर्वाेच्चमा प्रहरी र वकिलबीच झडप, बारका महासचिवसहित पाँच जना घाइते

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच झडप भएको छ । सो क्रममा चार जना कानुन व्यवसायी घाइते भएका नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष टीकाराम भट्टराईले जानकारी दिए ।

उनका अनुसार बारका महासचिव लिलामणि पौडेल, पूर्वउपध्यक्ष कुमार शर्मा आचार्य, बार केन्द्रीय सदस्य प्रकाश महर्जन, पूर्वकेन्द्रीय सदस्य रमनकुमार कर्ण र उच्च अदालत पाटन बार सदस्य मुकुन्द भट्टराई सामान्य घाइते भएका हुन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर सर्वोच्च अदालतकै १९ जना न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिस्कार गर्दै आएका छन् भने नेपाल बार एसोसिएसन आन्दोलनमा उत्रिएको छ ।

सोही क्रममा बिहीबार धर्नामा रहेका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी परेको हो । आन्दोनरत कानुन व्यवसायी सर्वोच्च अदालततर्फ अघि बढेपछि रोक्न खोज्दा प्रहरी र अधिवक्ताबीच घम्साघम्सी परेको हो ।

कार्यपालिकासँग भागबण्डा खोजेकोलगायतको आरोप लगाउँदै सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा उत्रिएका हुन् ।

परिसरमा सशस्त्रको टोली पनि खटाइयो

कानुन व्यवसायीहरुको प्रदर्शन रोक्ने उद्देश्यले सशस्त्र प्रहरीको टोली पनि सर्वोच्च अदालत क्षेत्रमा खटाइएको छ । सशस्त्र प्रहरीको टोली नेपाल प्रहरीको ब्याक सपोर्टमा देखिएको छ ।

सर्वोच्च अदालत परिसरमा नेपाल प्रहरीका डिएसपीको कमाण्डमा एक टोली पहिलेदेखि नै खटिएको छ । अहिले सशस्त्रका इन्सपेक्टरसहितको अर्को टोली पनि सर्वोच्च अदालतभित्रै तैनाथ छ ।