प्रतिनिधि सभामा ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ प्रस्तुत भएको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ सभा समक्ष प्रस्तुत गरेका हुन् ।
सभामा प्रस्तुत गर्दै उनले नेपालमा लगानीको वातावरण सहज बनाउन आयोजना गरिएको लगानी सम्मेलन, २०८१ को क्रममा नीतिगत सुधार गर्न कानून परिमार्जन गर्न आवश्यक भएकाले अध्यादेश जारी गरिएको बताए ।
प्रस्तुत विधेयमा स्टार्टअप उद्योग दर्ता, उद्योगको सञ्चालन म्याद, थप विदेशी लगानी तथा प्रविधि हस्तान्तरण गर्ने विषयमा थप स्पष्टता, करारमा वस्तु उत्पादन गर्ने विषय र विशेष अर्थिक क्षेत्रका उद्योगले पाउने सहुलियतलाई वृद्धि गरिएको उनले सभालाई जानकारी गराए ।
विधेयक प्रस्तुत गर्दै मन्त्री भण्डारीले गत वैशख १६ र १७ गते नेपालमा आयोजना गरिएको लगानी सम्मेलनलाई लक्षित गरेर ल्याइएको अध्यादेश प्रतिस्थापन गर्ने गरी विधेयक ल्याएको बताए । अध्यादेशले नेपालमा लगानीको वातावरण थप सहज बनाउने उद्देश्य राखेको र सोही अध्यादेश विधेयकका रुपमा संसदमा ल्याइएको मन्त्री भण्डारीले जानकारी गराए ।
लगानी आकर्षित गर्न नीतिगत सुधार गर्न आवश्यक रहेको र कानुनी सुधार गर्न आवश्यक भएकाले सरकारले त्यसबेला अध्यादेश ल्याउनुपरेको मन्त्री भण्डारीको भनाइ छ ।
त्यस्तै, लगानी वातावरण थप सहज बनाउन विधेयकमार्फत औद्यागिक व्यवसाय ऐन, २०७६, भूमि सम्बन्धी ऐन, २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, जग्गा प्राप्ति ऐन, २०३४, विशेष आर्थिक क्षेत्र, ऐन २०७३, सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन, २०७५, विदेशी लगानी तथा प्रविधि हस्तानरण ऐन, २०७५, वन ऐन, २०७६ मा समय अनुकुल संशोधनको प्रस्ताव गरी विधेयक प्रतिनिधि सभामा प्रस्तुत गरिएको छ ।













