इजलासमा मुद्दा नहेरेर आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीश विभाजित भएका छन् । सोमबार नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनका पदाधिकारीसँगको छलफल पाँच न्यायाधीशले बहिष्कार गरेका हुन् ।
छलफलमा सहभागिता जनाउन अस्वीकार गरेका न्यायाधीशहरुमा कुमार रेग्मी, तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडाल रहेका छन् ।
बार उपाध्यक्ष रक्षा बस्यालले ११ जना न्यायाधीशसँग भएको छलफल निष्कर्षमा पुग्न नसकेको बताइन् । भोलि पुन: छलफल गर्ने समझदारी भएको उनले बताइन् । छलफलमा बारका पदाधिकारीले आन्दोलनको आफ्नो अडान राखेका थिए । तर न्यायाधीशहरुले भने कुनै प्रतिक्रिया जनाएनन् । छलफलमा सहकर्मी केही न्यायाधीशहरु उपस्थित नभएपछि उनीहरुले ‘अहिले केही नबोलौ, सबै साथीहरुसँग सल्लाह गर्नुपर्छ’ भनेर बारका पदाधिकारीलाई जवाफ दिएका थिए ।
न्यायालय शुद्धीकरणका लागि बार चार सातादेखि आन्दोलनमा छ । न्यायाधीशहरु पनि मुद्दा नहेरेर असहयोग आन्दोलनमा छन् । आन्दोलनमा रहेको बार र न्यायाधीशबीच सोमबारदेखि छलफल प्रारम्भ भएको हो । सोमबार नै प्रधानन्यायाधीश जबराले विधिसम्मत वार्तामा आउन आह्वान गरेका छन् ।