कांग्रेस प्रदेश सभा अधिवेशन आजबाट, सभापतिका लागि पाँच हजार शुल्क

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ । वडा र पालिका तहको अधिवेशन भइसकेका जिल्लामा प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुन लागेको हो ।

आजदेखि सुरू हुने प्रदेश सभा अधिवेशनको सभापति उम्मेदवारका लागि पाँच हजार शुल्क बुझाउनु पर्ने छ । केही जिल्लाबाहेक मुलुकभरका ३३० वटा प्रदेश सभापति उम्मेदवारका लागि ५ हजार शुल्क तोकेको हो ।

‘आजबाट प्रदेश सभा अधिवेसन सुरू भएको छ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सर्लाहीलगायत केही जिल्लामा विवाद देखापरे पनि नेतृत्वले ३३० वटै प्रदेश सभा अधिवेशन गर्ने योजना बनाएको छ ।’

उनका अनुसार सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई र १६ प्रदेशस्तरीय कार्यसमितिका लागि उम्मेदवारी दिनेछन् ।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार उपसभापति र सचिवका लागि तीन तीन हजार, सहसचिव दुई हजार ५०० र सदस्य पदका लागि दुई हजार शुल्क तिरेपछि मात्रै उम्मेदवारी दर्ता गराउन पाउने छन् ।

करिब २७ सदस्सीय कार्यसमिति रहने प्रदेश सभा स्तरका समितिका लागि कोषाध्यक्ष भने निर्वाचित सभापतिले मनोनित गर्नेछन् । १६ जना निर्वाचित कार्यसमिति सदस्य चयन हुने प्रदेश सभाको पूर्णता भने नवनिर्वाचित सभापतिले कुल संख्याको २० प्रतिशत अर्थात कम्तिमा चार सदस्यलाई मनोनीत गर्ने अधिकार दिएको छ ।

शुक्रबार प्रदेशसभा अधिवेशन सम्पन्न हुन नसकेमा निर्वाचन समितिले नयाँ मिति तय गरेर अधिवेशन गराउनेछ ।