आज निर्जला एकादशी, तुलसीको बीउ रोप्‍ने दिन

आज निर्जला एकादशी । ज्येष्ठ शुक्ल एकादशीका दिन पर्ने यो पर्व तुलसीको बीउ रोप्‍ने पर्वका रूपमा चिनिन्‍छ । आज बिउ राखिएको तुलसी एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महिने अवधिलाई चतुर्मास समेत भनिन्छ ।

यस दिनमा तुलसीका दानाहरूलाई जमिनमा छर्ने चलन हुन्छ, कतिले तुलसीको मोठको माटोमा नै तुलसीका दानाहरू अर्थात् मञ्जरीहरू छर्दछन् भनेँ कतिले चाहिँ जमिनमा सफा पारेर माटो फुरुरु बनाएर तुलसी छर्दछन् । यस दिन छरिएका तुलसीहरूको अङ्कुरण भएपछि ती बिरुवाहरूलाई पछि ठुली एकादशीमा रोप्ने गरिन्छ । हरिको जयजयकार मनाउँदै आज यस एकादशीको भव्य स्मरण गरिन्छ ।

वर्षभरिका एकादशीहरूमा आफ्नै प्रकारको विशेषता भएको निर्जला एकादशीको महिमा आफ्नै प्रकारको अनि विशिष्ट छ । निर्जला अर्थात् जल बिनाको एकादशी, यस एकादशीलाई जल बिना व्रत लिने गरेर भक्तिपूर्वक पालना गरिन्छ । जल नै नलिने भएपछि खाना या फलाहारको त कुरै भएन, नितान्त रूपमा भोकै अनि पवित्र मनले यस एकादशीमा चित्त अनि शरीरका हरेक अवयवहरूमा सकारात्मक ऊर्जा र शक्ति सञ्चार गर्ने चलन रहन्छ । यस एकादशीलाई पाण्डव एकादशी अनि भीम एकादशी पनि भनिएको पाइन्छ ।