प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र बलियो भए मात्रै देश समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्न सक्ने दाबी गरेका छन् । बिहीबार नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो दाब िगरेका हुन् ।
उनले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता, कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । प्रधानमन्त्री देउवाले केही महिनाभित्रै पालिका तथा एक वर्षभित्र संघ र प्रदेशको चुनाव हुने भन्दै पार्टीको अधिवेशनलगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन् ।
उनले पार्टीभित्रको आन्तरिक चुनावमा हुने हाररजित स्वाभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आउँदा दिनमा नागरिकको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन नेतारकार्यकर्तालाई आग्रह गरे ।
उनले भने, ‘हामी केही महिनाभित्रै पालिकाको निर्वाचन, एक वर्षभित्र सङ्घ र प्रदेशको चुनावमा जाँदैछौँ । त्यसैले पनि अधिवेशनलगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रित हुनुपर्दछ । हाम्रा आन्तरिक चुनावमा हुने जितरहार एउटा स्वाभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईँहरूले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिएर आउँदा दिनमा नागरिकको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरे । उनले लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी गरे ।












