याे पटक पनि अत्याधिक बहुमतका साथ विजयी हुन्छौं : रामबहादुर थापा [अन्तर्वार्ता]

'देश एमालेमय भएकाे छ'

यहि बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । राजनीतिक दलहरु चुनाव केन्द्रित छलफल र प्रचारप्रसारमा व्यस्त छन् । यो पटकको स्थानीय निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धन बीच कडा टक्कर हुँदैछ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी जसपा, राष्ट्रिय जनमोर्चा गरी ५ दलीय गठबन्धनले चुनावी तालमेल गरेका छन् । भने अर्कोतिर, नेकपा एमालेले पनि राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गरेको छ । स्थानीय चुनावका लागि मनोनयन दर्ता समेत भइसकेको छ ।
यो पटकको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी नेकपा एमालेको उम्मेदवारी परेको छ । प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष गरी सबै पदमा अहिलेसम्म नेकपा एमालेबाट ३३ हजार २ सय ५७ जनाको उम्मेदवारी परेको छ । एमालेबाट प्रमुख पदमा २६३ पुरुष र २७ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै अध्यक्षमा ४१८ पुरुष र २८ महिलाको उम्मेदवारी परेको छ । त्यस्तै उप्रमुखका २६ पुरुष र २५९ महिलाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ३५ पुरुष र ४१० जना महिलाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्षमा एमालेबाट ६ हजार ३ सय ७६ जना पुरुष र ११९ महिलाले उम्मेदवारी दिएका छन् ।
यस्तो अवस्थामा नेकपा एमालेले चुनावी तयारी कसरी अगाडी बढाएको छ ? यो पटकको निर्वाचनमा कस्ता एजेन्डाहरु लिएर जनतामा जान्छ ? भन्ने जस्ता विषयमा केन्द्रित भई नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’सँग गरिएको कुराकानीको सम्पादित अंश :

पछिल्लो राजनीतिक अवस्था कस्तो छ ? स्थानीय तहको निर्वाचन पनि नजिकिँदै छ । तयारी कसरी अगाडि बढाइ रहनु भएको छ ?
पछिल्लो समय राजनीतिक अवस्था जटिल बन्दै गएको छ । परमादेशबाट एमालेको सरकार विघटन भएपछि देशको अवस्था जटिल छ । देश अस्थिरताको भूमरीमा फस्दै गएको छ । देशको अर्थतन्त्र, न्याय व्यवस्था भताभुङ्ग भएको छ । यो विशेष परिस्थितीमा निर्वाचन हुँदै छ । नेकपा एमालेले ‘सुशासन, समृद्धी र समाजवादको आधार, पालिका–पालिकामा एमालेको सरकार’ यो नाराका साथ चुनावको तयारी गरेको छ । अहिले सिङ्गो देश नै एमालेमय भएको छ । हामी निर्वाचनको तयारीमा नै व्यस्त छौं ।

यो पटकको स्थानीय तह निर्वाचनमा एमालेको नामो निसाना मेटाउने भनेर सत्तागठबन्धनका दलहरु लागि परेका छन् ? तपाईहरुका विरुद्ध गठबन्धन गरिरहेका छन् । यस्तो अवस्थामा यो पटकको स्थानीय तह निर्वाचनमा जित हात पार्न तपाइहरुलाई गाह्रो छ है ?
अहिलेको परिस्थीतिमा देश दुई कित्तामा धुव्रीकरण भएको छ । एकातिर दक्षिण पन्थी गठबन्धन छ । भने अर्को तिर नेकपा एमालेको नेतृत्वमा वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरु उभिएका छन् ।अहिले दुईवटा शक्ति अथवा दुई प्रबृती बीचमा प्रतिस्पर्धा हुँदै छ । हाम्रो विश्लेषणमा यो निर्वाचनमा गठबन्धन पराजित हुँदै छ भन्ने छ । गठबन्धन भित्र पनि चर्को अन्तरविरोध छ । यो अवस्थामा विगतको तुलनामा नेकपा एमाले अत्याधिक बहुमतका साथ विजयी हुने छ ।

स्थानीय तहको निर्वाचनका लागि तपाईहरुले जारी गरेको घोषण पत्र, नेपाली काँग्रेस र एकीकृत समाजवादीको घोषण पत्र उस्ता–उस्तै छ ? यो संयोग मात्र हो कि गठबन्धनका दलको घोषण पत्र तपाईहरुले कपी गरेको ?
गठबन्धका दलहरु नेकपा एमालेको नक्कल गरिरहेका छन् । यसो गर्न उनीहरुलाई बाध्यता छ । गठबन्धनसँग अहिले कुनै उपाय छैन । उनीहरुले जारी गरेको घोषण पत्र बहुलठ्ठीपन हो । त्यहाँ केहि पनि छैन । हामीले त्यहिरुपमा गठबन्धनवालाको घोषण पत्रलाई लिएका छौं । उनीहरुले हाम्रो नक्कल गरेका हुन् ।

यो पटक जनताहरुले नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा किन मतदान गर्ने ?
जनता सुशासन, जनता समृद्धी, देशको भौगोलिक अखण्डता चाहन्छन् । स्वाधिनताको रक्षा गर्न चाहन्छन् । जनता राजनीतिक स्थायीत्व चाहन्छन् । यी कुराहरु नेकपा एमालेको मुल मुद्धा हुन् । नेकपा एमालेको स्थानीय निर्वाचनको मुल नारा ‘सुशासन र समृद्धि’ हो । सुशासन भित्र लोकतन्त्रको सुदृढीकरण गर्ने कुरा आउँछ । देशलाई भ्रष्टाचार मुक्त गराउने कुरा आउँछ । समृद्ध जनताको दैनिक जिवनसँग जोडिएको छ । अहिलेको मुल मुद्धा विकास हो । देशमा राजनीतिक स्थायीत्व र लोकतन्त्रको सुदृढीकरण बिना समृद्धी सम्भव छैन । त्यसैले हामी निर्वाचनमा सुशासन र समृद्धिको नारा सहित जाँदै छौं । देशमा सुशासन र समृद्धिको लागि आम जनताले नेकपा एमालेलाई भोट दिनुहुन्छ ।

यसभन्दा पहिलेको निर्वाचनमा पनि तपाईहरुलाई बहुमत दिएकै हो नि, पार्टी विभाजन गर्नु भयो ? जनताका लागि खासै केहि गर्नु भएन भन्ने छ ? तपाईका सरकारले राम्रा काम गरेपनि तल्लो तहका जनता सम्म प्रचार हुन सकेको छैन नि । यसले कत्तिको असर गर्ला ?
नेकपा एमालेको सरकारले केहि पनि गर्न सकेन भन्ने कुरा निराधार छ । यो भ्रम सिर्जना गरि जनतालाई धोका दिने प्रपञ्च हो । विकासको दृष्टिकोणले हामीले साढे ७ प्रतिशत भन्दा धेरै आर्थिक वृद्धिदर प्राप्त ग¥यौँ । देशलाई मध्यम दर्जाको विकाशील राष्ट्रमा स्तरोन्तीका लागि सिफारिस भयो । कुनै पनि उपलब्धी विना यो सम्भाव थिएन । एमालेको सरकारले आर्थिक क्षेत्रमा, सुशासनको क्षेत्रमा, देशमा शान्ति र स्थायीत्व हासिल गर्न महत्वपूर्ण उपलब्धी हासिल गरेको थियो ।

अघिल्लो चुनावमा एमालेको पक्षमा व्यापक जनमत थियो । स्थानीय सरकारमार्फत जनताका अपेक्षा पुरा नहुदाँ अहिले यो असन्तुष्टिमा बदलिएको छ । जनतालाई आश्वस्त पार्ने के–कस्ता एजेण्डा लिएर निर्वाचनमा जाँदै हुनुहुन्छ ?
जहाँ जहाँ नेकपा एमालेको सरकार बन्यो ती स्थानमा विकास भएको छ । विकास भएको छैन भन्ने कुरा निधार हो । दुर्त गतिमा विकास भयो । विकासका पूर्वधार निमार्णको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । अब आउने सरकारले स्थानीय तह माथि उठाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने छन् ।

अब प्रसङ्ग परिवर्तन गरौँ, प्रचण्डसँग त्यतिका वर्ष सँगै सहयात्र गर्नु भयो, जनयुद्धसँग सँगै लड्नु भयो, तर अहिले त्यतिका वर्षको सहयात्री छोडेर एमाले तिर लाग्नुपर्ने अवस्था कसरी आयो ?
नेकपा एमाले ‘नेकपा’ कै निरन्तर हो । एमालेको पक्षमा आम जनता छन् । आजको आवश्यकता बामपन्थीहरुको एकता हो । एकताको निरन्तर र बामपन्थी आन्दोलनको मुल प्रवाहको रुपमा एमाले नै प्रतिनिधित्व गर्छ । त्यसैले एमालेको पक्षमा आम जनमत देखिएको हो ।

तर माओवादी केन्द्रका नेताहरुले त्यत्तिबेला तपाईले गृहमन्त्री छोड्न नसकेर अध्यक्ष ओलीको समर्थन गरेर यतै बसेको भन्छन् ?
यो निराधार आरोप हो । पार्टीको अध्यक्ष र सरकारलाई विस्थापित गर्न खोज्दा नेकपाको विभाजन भएको हो । समाजवादको आधार निमार्ण गर्न र समाजवादी क्रान्तिका लागि कम्युनिष्टहरुको एकता भएको हो । यो आधारलाई माओवादीहरुले भत्काए । म चाँही एकता र समृद्धिको पक्षमा उभिएको हो । देशमा समाजवादको अधार निमार्ण गर्न र देशलाई समाजवादको दिशामा अगाडी बढाउनका लागि एमालेमा बसेको हुँ ।माधव नेपाल र प्रचण्डरुले पार्टीलाई धोका दिएका हुन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न नपाएपछि उनीहरुले पार्टीलाई विभाजन गरेको हुन यो पुष्टि भइसकेको छ । उनीहरु दक्षिणपन्थी कित्तामा बाडिए । उनीहरु समाजवादको बाटोबाट विचलित भए । उनीहरु काँग्रेस भइसके ।

भविष्यमा तपाई माओवादीमा नै फर्केन वा नेकपा एमाले, एकीकृत समाजवादी, नेकपा माओवादी केन्दलगायतका कम्युनिष्टहरुको एकताको सम्भावना कत्ति छ ?
माओवादीमा फर्कने भन्ने त प्रश्न नै उठ्दैन । जुन राजनीतिक सिद्धान्त र आधारमा नेकपा बनेको हो । त्यो अधार अहिले पनि यथावत छ। त्यसको निरन्तरका पक्षमा हामी छौं । समाजवादी क्रान्तीका लागि नेकपा निमार्ण गरिएको थियो । त्यो अहिले पनि जारी छ । प्रचण्ड र माधव नेपालहरु त्यो अधारबाट अलग भए । उनीहरु समाववादको बाटो परित्याग गरे फेरि त्यो बाटोमा जाने भन्ने प्रश्न नै उठदैन ।

सम्बन्धित समाचार