काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका प्रहरी जवान अजित गोलेले प्रेमिकासँगको विवादका कारण गोली हानेर आत्महत्या गरेको खुलेको छ ।
प्रहरीको अनुसन्धानको क्रममा जवान अजितले आफैंलाई गोली प्रहारको कारण प्रेमिकासँग जोडिएको पाइएको प्रहरीले जानकारी दियो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा विदेशमा रहेकी प्रेमिकासँग विवाद हुँदा भिडियो कल गरेर गालेले आफैँले बोकेको राइफलले अनुहारमा गोली हानेर आत्महत्या गरेको खुलेको प्रहरी स्रोतले बताएको छ ।
दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । घटनास्थल मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा अजितको मोबाइल समेत बरामद भएको थियो । उनले राइफल भुइँमा अड्याएर खुट्टाले निधारमा ताकेर गोली चलाएको प्रहरीको अनुमान छ । सीसीटीभी फुटेजलगायतबाट पनि उनले नै गोली हानेको पुष्टि हुने प्रहरी अधिकारी बताउँछन् ।
हाल दुबईमा रहेकी अजितकी प्रेमीकासँग उनले करिब ५ महिना पहिले नै इन्गेजमेन्ट गरिसकेको पनि खुलिसकेको छ ।
तर इन्गेजमेन्ट गरेर गएकी उनले दुबई पुगेपछि आफूलाई बेवास्ता गरेको भन्दै ती प्रहरी जवानले आफू मर्ने भनेर पनि म्यासेज पठाएको भेटिएको छ । प्रहरीका अनुसार प्रेमिकालाई अजितले आफ्नै खर्चमा दुबई पठाएको समेत खुलेको छ ।
“हाम्रो प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमिकासँगको विवादका कारण आफैँले गोली हानेर आत्महत्या गरेको देखिएको छ । दुबईमा रहेकी प्रेमिकालाई म्यासेज तथा भिडियो कल समेत गरेको देखिन्छ,” अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।
उनले ८ बजेर २ मिनेट जाँदा गोली हानेको अनुमान गरिएको प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए । अजितको ड्युटी बिहान ६ बजेदेखि १० बजेसम्म राखिएको थियो । तीन वर्ष पहिले प्रहरी जवानमा भर्ना भएका अजित संसद् भवनमा गत जेठ २८ गतेदेखि खटिएका थिए ।
आफैँले बोकेको राइफलले अनुहारमा गोली हानेका थिए संसद् भवनको सुरक्षामा खटिएका अजितले















