तपस्वी भनेर चिनिएका एक युवक रामबहादुर बमजन बाल बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका छन् । सर्लाही जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार १७ गतेका लागि पेसी तोकेको छ ।
रामबहादुरसँगै तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङ पनि दोषी ठहरिएका छन् । ज्ञानकुमार र जितबहादुरलाई मतियारको रुपमा सजाय मागदाबी गर्दै अदालतमा अभियोग पत्र पेश भएको थियो ।
बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २४ पुस २०८० मा काठमाडौंबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई २०७६ सालदेखि नै खोजी गरिरहेपनि २०८० सालमा मात्रै उनी पक्राउ परेका थिए । सर्लाही अदालतले २७ पुस २०८० मा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
बम्जनमाथि सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको अभियोग छ । उनीहरु सबैलाई सिन्धलीस्थित आश्रमबाट बेपत्ता बनाइएको प्रहरी अनुमान छ । सर्लाहीस्थित आश्रममा बाल यौन दुराचार भएको जाहेरी थियो ।
महिला अधिकारकर्मीको सहयोगमा ३० भदौ २०७६ मा ललितपुरमा पत्रकार सम्मेलन गर्दै एक १८ वर्षीया युवतीले बम्जनले पटकपटक बलात्कार गरेको खुलासा गरेकी थिइन् । त्यसपछि प्रहरी कहाँ पनि यो विषयमा उजुरी परेको थियो ।
पीडितका अनुसार घटना २०७३ साल साउन २० गते रातिको हो । उनी २०७१ सालदेखि बम्जनको आश्रममा आनी बनेर बसेकी थिइन् । तर त्यसको दुई वर्षपछि २०७३ साउन २० गते राति ९:१० बजेको समयमा बम्जनले उनलाई ललाई फकाई प्रलोभनमा पारेर बोलाएर आफू सुत्ने कोठामा लगे ।
कोठाको ढोकाको चुकुल लगाएर प्लास्टिकको कार्पेटमा लडाएर उनलाई रुन कराउनसमेत नसक्ने गरी मुख थुनेर, डर, त्रास धम्की दिएर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । त्यसपछि पनि पीडित एक्लै भएको मौका छोपी पटकपटक यौन सम्पर्क राखी यौन सन्तुष्टि प्राप्त गरेको तथा बाल यौन शोषण गरेको आरोप छ ।