राजदूत सिफारिस सच्याइन्छः प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले विभिन्न देशमा गरेको राजदूत सिफारिस सच्याउन सकिने बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा मंगलबार परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले कमी, कमजोरी रहेको भए राजदूत सिफारिस सच्याइने बताए ।

‘राजदूत नियुक्तिको सन्दर्भमा पार्टीले प्रस्तुत गर्दा मेरिटको आधारमा योग्य मान्छे प्रस्तुत गर्नुपर्‍यो। ताकि त्यसले देशको प्रतिष्ठाको लागि पनि, अन्य कामहरुमा पनि राम्रो योगदान गर्न सकियोस् भनिएको थियो,’ उनले भने ।

विगतमा पनि राजनीतिक नियुक्ति गरिएका राजदूतहरू परिवर्तन गर्ने गरेको प्रसंग उनले सुनाएका थिए ।

साथै उनले नेपाली कांग्रेसले विगतमा योग्य राजदूतको नाम दिएको भन्दै धन्यवादसमेत दिएका छन् ।

‘मैले त्यतिखेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भनेको थिए, तपाईले योग्य मान्छे दिनुभयो । अहिले पनि मैले योग्य मान्छे दिनुपर्‍यो। मेरिटको आधारमा दिनुपर्‍यो भनेको हो। अब कति मेरिटमा परे, परेनन्। कतिको मेनपावरसँग छ, भन्ने जो प्रश्न उठेको छ, यो उठेका प्रश्नको सन्दर्भमा म सम्बन्धितहरुसँग छलफल गरेर यदी त्यहाँ केही कमी रहेछ भने सच्याइन्छ, यो विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

मेरिटकै आधारमा राजदूत सिफारिस अघि बढोस् भन्ने आफूले चाहेको उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले विगतमा राजनीतिक समीकरण परिवर्तन भएपछि हप्ता दिनभित्रै राजदूत फिर्ता बोलाउने प्रचलन भए पनि आफूले राजदूतहरुलाई तीन महिना काम गर्न दिएको बताएका छन् ।

हालै सरकारले ११ देशका राजदूत फिर्ता बोलाएर ८ जना सिफारिस गरेको थियो ।