मामाको योजनामा भाञ्जाको घरबाट दुई करोड लुटपाट, प्रहरी हवल्दारसहित चार जना पक्राउ

भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक बाह्रबिसे-२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी-२ घर भई हाल गोकर्णेश्वर बस्ने भीम तामाङ, ओखलढुंगा घर भएका मुनाराज राई र सिन्धुपाल्चोकका कृष्णबहादुर बोहरालाई पक्राउ गरेको हो । बोहरा महाराजगञ्जस्थित प्रहरी गणमा कार्यरत प्रहरी हवल्दारसमेत हुन् ।

गत असार ४ गते भक्तपुर सूर्यविनायक- ४ दधिकोट बस्ने ४५ वर्षीय डिल्लीबहादुर राउतको घरबाट उनीहरूले दुई करोड नेपाली रकम लुटेको आरोप छ । लुटपाटमा संलग्न मुख्य योजनाकार भनिएका कुलबहादुर खत्री भने फरार छन् । उनी डिल्ली राउतका मामासमेत हुन् ।

डिल्ली युरोपेली मुलुक खासगरी क्रोएसियामा नेपाली कामदार पठाउन एजेन्टका रुपमा गर्छन् । विदेश पठाए वापतको रकम नगदै बुझेर घरमा राख्ने गरेको थाहा पाएपछि मामा कुलबहादुरको योजनामा लुटपाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

सुजन यसअघि २०७६ सालमा पहेलो धातु देखाई सुन भन्दै ठगी गरेको र सिन्धुपाल्चोकमा कुटपिट तथा झैझगडा मुद्दामा कारबाही भोगेका व्यक्ति हुन् । उनीहरूको साथबाट घटनामा प्रयोग भएको २ वटा मोटरसाइकल, १० थान मोबाइल, पैसा बोकेको झोला, खुकुरी, ३६ लाख ३६ हजार नगदलगायतका सामान पनि बरामद भएको छ ।

लुटेको रकमबाट आधा जति रकम कुलबहादुरले बुझेको पक्राउ परेकाहरुले बताएका छन् । बाँकी रहेको रकमबाट सुजनले ३० लाख लिए भने बाँकी ३ जनाले २० लाख रुपैयाँको दरले बाँडेको पक्राउ परेकाहरुले स्वीकारेका छन् ।

रकम बाँडफाँटपछि उनीहरुले विभिन्न रिसोर्ट तथा होटलमा गएर खर्च गरेको पाइएको छ । सुजन र भीम सुकुटे रिसोर्ट गएर बसेको खुलेको छ । त्यसपछि तातोपानीसम्म पुगेको र त्यहाँबाट फेरि दोलखा गएर बसेका थिए ।

कालिञ्चोकसम्म पुगेर घुमेर फर्किएका उनीहरु पक्राउ परे । उनीहरुकै सूचनाका आधारमा प्रहरीले कृष्णलाई महाराजगञ्जबाट पक्राउ गर्‍यो । मुनाराजलाई भने ओखलढुंगाबाट पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको छ ।

पक्राउ परेकाहरुबाट ३६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ ।