बारामा गोली हानी हत्या क्याम्पस प्रमुखको हत्या गरेको घटनामा सात जना आरोपितहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
जेठ ३२ गते कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्या भएको घटनामा सात जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवं प्रवक्ता दधिराम न्यौपानेले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
पक्राउ पर्नेमा बारा खजुरिया टोलका ३२ वर्षीय अवधलाल प्रसाद कुशवाहा, २९ वर्षीय चांदसी प्रसाद कुशवाहा, २७ वर्षीय चुल्हाई भन्ने श्रवण कुमार साह र ५० वर्षीय ब्रह्मदेव राम छन् ।
त्यस्तै बाराकै ५० वर्षीय मोतीलाल चौधरी, ३४ वर्षीय राधेश कुमार पटेल र ५४ वर्षीय विनोद राउत कुर्म पक्राउ परेका हुन् ।
उनीहरूका साथबाट तीनवटा मोटरसाइकल, ६ राउन्ड गोली, विभिन्न मोबाइल, ल्यापटप र नेपाली तथा भारतीय सिम कार्ड समेत बरामद गरेको डिएसपी न्यौपानेले जानकारी दिएका छन् ।
कुशवाहाको हत्या योजना एक महिनाअघि नै बनेको अुनसन्धानबाट खुलेको छ । अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिबाट सो कुरा खुलेको हो । प्रवक्ता न्यौपानेका अनुसार हालसम्मको अनुसन्धानका क्रममा घटनाको कारण घरायसी विवाद देखिएको छ ।
पक्राउ परेका व्यक्तिबाट घटनाको वास्तविक कारण र घटनामा संलग्न अन्य व्यक्तिको पहिचान गर्ने काम भइरहेको न्यौपानेले बताए । ‘हालसम्मको अनुसन्धानले घरायसी विवाद देखाएको छ। थप तथ्यका लागि हामी अनुसन्धान गर्दैछौं,’ न्यौपानेले भने, ‘तर केही समयदेखि योजना बनाएर हत्या गरेको देखियो ।’
अनुसन्धानका क्रममा हतियार तथा सुटर व्यवस्थापन गर्ने, रेकी गर्ने, सुटरलाई भगाउने, मोटसाइकलको व्यवस्थापन गर्नका लागि चरणबद्धरूपमा समूहमा छलफल भएको समेत खुलेको प्रवक्ता न्यौपानेको भनाइ छ । अनुसन्धानबाट पत्ता लाग्ने गरी प्रमाण नछोड्ने हिसाबले योजना बनाएको भए पनि प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गर्ने काममा सफलता प्राप्त गरेको न्यौपानेले बताए ।
कुशवाहामाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा गोली प्रहार भएको थियो । घर जाँदै गरेका उनीमाथि मोटरसाइकलमा आएका दुई जनाले पछाडिबाट गोली प्रहार गरेका थिए । पिठ्युँमा गोली लागेको कुशवाहाको उपचारको क्रममा वीरगन्जस्थित न्युरो अस्पतालमा मृत्यु भएको थियो ।