कास्कीमा पहिरोमा परेर दुई बालबालिकाको मृत्यु, पोखरामा पृथ्वीराजमार्ग भासियो

कास्कीमा बुधबार बिहान पहिरोले घर बगाउँदा दुई जना बालबालिकाको मृत्यु भएको छ भने पोखरामा पृथ्वी राजमार्गमा सडक भासिएको छ ।

कास्कीको मादी गाउँपालिका–५ चितेपानीमा स्थानीय प्रकाश रानाभाटको ब्लक र टिनले बनेको ३ कोठे घरको पछाडीबाट माटोको ढिस्कोले घर पुरिँदा १३ बर्षीय बालिका आयुष्मा रानाभाटको मृत्यु भएको छ ।

पहिरोले पुरिँदा उनका हजुरआमा ७० वर्षीय हजुरआमा लालमाया बन्जारीको सकुशल उद्धार गरिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । शर्माका अनुसार घरमा हजुरआमा र नातिनी मात्र सुतेका थिए ।

यस्तै, पोखरा महानगरको वडा नम्बर २७ आरु पाटामा एक बालकको ज्यान गएको छ । बिहान ३ बजेतिर हरि सुनारको घर भत्किँदा उनका छोरा तीन वर्षीय अनमोलको मृत्यु भएको हो । अनमोलकी आमा २७ वर्षीया रितु सुनारलाई घाइते अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएको छ ।

प्रवक्ता शर्माले रितुको अवस्था गम्भीर रहेको जानकारी दिए । घरमै सँगै सुतेका हरि सुनार ९ वर्षीया अञ्जली सुनार भने सकुशल छन् ।

कास्कीमा गएरात‍िदेखि अविरल वर्षा भइरहेको छ । वर्षाकै कारण पोखराको चाउथेस्थित आनन्दटोलमा पृथ्वी राजमार्ग भासिएको छ । घट्टेकुलोमा पानीको बहाव बढेर सडक भासिएको प्रहरीले जनाएको छ ।

प्रवक्ता शर्माका अनुसार सडक करिब ७ मिटर लम्बाइ र १ मिटर चौडाइ सडक भासिएको छ । सडक भासिए पनि एकतर्फी रुपमा संचालन भइरहेको छ । सडक भासिएर मानवीय क्षती भने नभएको शर्माले बताए ।

गत २४ घन्टामा पोखराको लामापाटन जल मापन केन्द्रमा १३४.२ मिलिमिटर वर्षा मापन गरिएको छ । २४ घन्टाको अवधिभित्र १२० मिलिमिटर वर्षा भएमा त्यसले क्षति पुर्‍याउने जोखिम रहन्छ ।