‘भीआईपी’ सवार जहाज भैरहवा अवतरण गर्न सकेन, काठमाडौं नै फिर्ता

नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रिय योजना आयोग सदस्य डा. रामकुमार फुयाँलसहित यात्रु चढेको जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको छ ।

योजना आयोगका अनुसार जहाजमा आयोग टोली थियो । बुद्ध एयरको ‘यू४–८८१’ उडान नम्बरको जहाज प्रतिकूल मौसमका कारण भैरहवामा अवतरण गर्न सकेको थिएन ।

जहाज अवतरण गर्न नसकी काठमाडौं फर्किंदा जहाजभित्र रुवाबासी चलेको योजना आयोग उपाध्यक्षको सचिवालयले उल्लेख गरेको छ ।

आयोग टोली बुटवलस्थित बुटवल धागो कारखाना, धौवाधी फलाम उद्योग लगायत अनुगमनमा बुटवल जाँदै थियो । यो टोलीको आगामी शुक्रबार मात्र काठमाडौं फर्किने योजना थियो ।

जहाज बिहान करिब ८ बजे भैरहवा पुगे पनि विमानस्थलमा अवतरण हुन नसकी काठमाडौं नै फिर्ता भएको हो । जहाज सवा ९ बजे काठमाडौं अवतरण गरेको थियो ।