राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा मुकुल ढकालले पार्टीभित्र आफूमाथि घृणित राजनीति भएको गुनासो गरेका छन्।
महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफ्नो देशव्यापी समीक्षा यात्राको प्रतिवेदन बुझाउने क्रममा पत्र लेख्दै यो गुनासो गरेका हुन्। उनले सभापति लामिछानेलाई यात्राको समीक्षा प्रतिवेदन आफूमा मात्र सीमित नराखी जस्ताको त्यस्तै सार्वजनिक गर्न पनि आग्रह गरेका छन्। उक्त प्रतिवेदन सार्वजनिक नगरे आफूमाथि पार्टीले गरेको अन्याय हुने तर्क पनि गरेका छन्।
‘यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ, मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो,’ उनले पत्रमा लेखेका छन्, ‘मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइनँ। नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ । मेरो पनि राजनीतिक अधिकार हो। यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ। यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ । ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस्।’
इलामको उपनिर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेपछि रास्वपाले आन्तरिक समीक्षा गर्न महामन्त्री ढकाललाई गत जेठ ६ गते देशव्यापी यात्रामा पठाएको थियो। असार ५ गते उनी काठमाडौँ आइपुगेका थिए।
यस क्रममा उनले ३८ वटा जिल्लाका २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तर्क्रिया गरेको प्रतिवेदनमा उल्लेख गरेका छन्। उनले प्रतिवेदन बुधबार सभापति लामिछानेलाई बुझाएका हुन्।
पत्रको व्यहोरा यसप्रकार छ-
उपरोक्त सम्बन्धमा पार्टीको निर्देशन बमोजिम म पार्टीको राजनीतिक यात्राको समीक्षा गर्न देशका विभिन्न जिल्लाका पालिकाहरुमा पुगी पार्टीको संगठन, राजनीतिक चरित्र, आर्थिक व्यवस्थापन, पार्टीका नेता, उम्मेदवार छनौट तथा राष्ट्रका विविध विषयहरुका सन्दर्भहरुमा केन्द्रित रही अन्तरक्रिया गरी फर्केको विदितै छ।
जेठ ६ गते पार्टीको केन्द्रीय कार्यालय घण्टीघरबाट शुरू गरेको समीक्षा यात्रा, ३८ वटा जिल्लाको माटो छोइ, २०७९ जनाभन्दा बढीसँग दोहोरो अन्तर्क्रिया गरी, महलदेखि जङ्गलसम्म बस्ने जनतासँग भेटी, हिमाल, पहाड, मधेस, तराईका सुगमदेखी दुर्गमका बस्ती पुगी, ८० किलोमिटर पैदल यात्रा र ४२१६ किलोमिटर सडक यात्रा गर्दै, कतै पिच सडक, कहिले भखरै ट्रयाक खोलिएका सडक हुँदै अन्त्यमा सुरूङ् मार्गबाट काठमाडौं प्रवेश गर्दै असार ५ गते, घण्टीघर काठमाडौँ आइपुगेर यात्रा समापन गरें ।
उक्त समीक्षा यात्राको प्रतिवेदन यसै पत्रसाथ सभापति ज्यूसमक्ष पेश गर्दछु । यो प्रतिवेदन पार्टीले पार्टीको समकालीन वस्तुस्थितिको यथार्थ चित्रण गर्नुकासाथै पार्टीले लिन पर्ने दिशाका सम्बन्धमा मार्गदर्शन समेत गर्ने मेरो विश्वास रहेको छ । त्यसैले यो प्रतिवेदन सबै तहका पार्टी पंक्ति तथा आम नेपालीमाझ प्रस्तुत गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । यसलाई तपाईमा सीमित नराखी सम्पूर्ण सरोकारवालासम्म पुर्याइदिनुहुन हार्दिक अनुरोध समेत गर्दछु ।
यसमा मेरो पनि व्यक्तिगत राजनीतिको सवाल छ । मैले गर्दै नगरेको कामहरूलाई पनि मेरो नाममा थुपारिदिएर पार्टीभित्र घृणित राजनीति भयो । मेरा कुरा के के हुन्, जनतालाई मैले कहिले भन्नै पाइन । नराम्रा जति मेरा, राम्रा जति सबै अरूका भए। मेरा कुरा पनि के छन्, त्यो जनताले थाहा पाउनपर्छ । मेरो पनि राजनीतिक अधिकार हो । यो प्रतिवेदन ११.३ लाख जनता जसले घण्टीमा भोट हाले, उहाँहरूले पनि थाहा पाउनुपर्छ । यो प्रतिवेदन सार्वजनिक नगरिनु ममाथि पार्टीले गरेको अन्याय हुन्छ । ममाथि न्याय गरियोस्, यो प्रतिवेदन जस्ताको तस्तै सार्वजनिक गरियोस् ।
