गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाइएको छ । उनलाई मर्यादा पालकले बाहिरै रोकेका छन् ।
ह्वीप उल्लंघन गरेको भन्दै माओवादी केन्द्रले देवकोटालाई सांसद पदबाट हटाएपछि देवकोटा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनको रिटउपर सर्वोच्चले माओवादीले कारबाही गर्न नमिल्ने भन्दै सोमबार अन्तरिम आदेश जारी गरेको थियो ।
सर्वोच्चले कारबाही गर्न नमिल्ने अन्तरिम आदेश जारी गरेपछि संसद बैठकमा पुगेका देवकोटालाई मर्यादापालकले रोकेका हुन् ।
उनले गत जेठ २८ गते नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसको जेठ २९ गते उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त गरिएको थियो ।
माओवादी केन्द्रले गत जेठ ३१ गते पत्रबाट गरेको कारबाही पत्र सुनाउँदै सभामुख कृष्ण प्रसाद धितालले निलम्बनको सूचना पढेर सुनाएका थिए । त्यसविरुद्ध देवकोटा सर्वोच्च गएका थिए ।